बाँके जिल्ला बहुप्रकोपको उच्च जोखिममा रहेको र बाढीलाई जिल्लाको मुख्य विपद्का रूपमा रहेको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले तयार गरेको ‘जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ को २०औँ अद्यावधिकमा बाढी, आगलागी, शीतलहर, हावाहुरी, लू, महामारी, खडेरी, डुबान तथा सडक दुर्घटनालगायतका प्रकोपबाट जिल्लामा जनधनको क्षति हुँदै आएको उल्लेख गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को २०औँ अद्यावधिक विवरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा बाँकेमा विभिन्न प्रकारका ८२४ वटा विपद्का घटना भएका छन् ।
समितिको विवरणअनुसार विपद्का घटनामा ७३ जनाको मृत्यु र ८ सय ४५ जना घाइते भएका छन ्। घटनाबाट ६५ वटा घर प्रभावित भएका छन् भने ४ वटा घर पूर्ण र ६१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । विपद्का कारण ४३ चौपायाको मृत्यु र ६ वटा घाइते भएका छन् ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै सडक दुर्घटनाका ७ सय ७४ घटना भएका छन् । सडक दुर्घटनामा ६९ जनाको मृत्यु र ५ सय ४० जना घाइते भएका छन् । त्यसैगरी आगलागीका ३६ घटना हुँदा २ जना घाइते, २ घर पूर्ण तथा ३४ घर आंशिक क्षति भएका छन्। आगलागीबाट २३ चौपायाको मृत्यु भएको विवरणमा उल्लेख छ ।
त्यस्तै बाढी तथा डुबानका ६, पानीमा डुबानका ३, करेन्टका ३, हावाहुरीको १ र चट्याङको १ घटना भएका छन् । विपद्बाट भएको कुल अनुमानित भौतिक क्षति १ करोड ८४ लाख ८८ हजार रूपैयाँ रहेको समितिको विवरणमा उल्लेख छ ।
विपद् विवरण अनुसार आर्थिक वर्ष २०६४÷०६५ देखि २०८२÷०८३ सम्मका विभिन्न वर्षमा बाढीबाट मात्रै ३८ हजार ७ सय ४२ घरधुरी प्रभावित भएका छन् । उक्त अवधिमा बाढीजन्य विपद्मा परी ३१ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ भने ७२ जना घाइते भएका छन् । तथ्यांकले बाँकेमा बाढीलाई हरेक वर्ष दोहोरिरहने प्रमुख विपद्का रूपमा देखाएको छ ।
बाढीबाट सबैभन्दा ठूलो असर आर्थिक वर्ष २०७४÷०७५ मा परेको देखिन्छ । उक्त वर्ष मात्रै १६ हजार ५ सय ४२ घरधुरी प्रभावित भएका थिए । सोही वर्ष बाढीमा परी ८ जनाको मृत्यु भएको विवरण छ ।
त्यसअघि २०७१÷०७२ मा पनि बाढीले ठूलो क्षति गरेको थियो । उक्त वर्ष १२ हजार ३ सय ४० घरधुरी प्रभावित, १५ जनाको मृत्यु र २५ जना घाइते भएको तथ्यांक छ । तालिकाअनुसार आर्थिक वर्ष २०६४÷०६५ मा ८ हजार १ सय ७१ घरधुरी बाढीबाट प्रभावित भएका थिए । सो वर्ष ७ जनाको मृत्यु र ४३ जना घाइते भएका थिए ।
२०७२÷०७३ मा ५४ घरधुरी, २०७८÷०७९ मा १२ घरधुरी, २०७९÷०८० मा ७ सय ७९ घरधुरी, २०८०÷०८१ मा १ सय ३५ घरधुरी बाढीबाट प्रभावित भएको विवरणमा उल्लेख छ ।
तथ्यांकले बाँकेमा बाढीको असर हरेक वर्ष समान नभएको पनि देखाउँछ । आर्थिक वर्ष २०६५÷०६६, २०६६÷०६७, २०६७÷०६८, २०६८÷०६९, २०६९÷०७०, २०७२÷०७३, २०७३÷०७४, २०७५÷०७६, २०७६÷०७७, २०७७÷०७८, २०७८÷०७९, २०७९÷०८०, २०८०÷०८१ र २०८१÷०८२ र २०८२÷०८३ मा मृत्युको संख्या शून्य रहेको छ । तर केही ठूला बाढीका घटनाले विगतको समग्र क्षतिको तथ्यांकलाई उल्लेख्य रूपमा बढाएको देखिन्छ । विशेषगरी २०६४÷०६५, २०७१÷०७२ र २०७४÷०७५ का घटना प्रभावित घरधुरी र मानवीय क्षतिको हिसाबले उल्लेखनीय छन् ।
त्यस्तै, गर्मीयाम सुरु भएसँगै बाँकेमा आगलागीको जोखिम बढ्ने गरेको छ। जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को २०औँ अद्यावधिक विवरणले जिल्लामा आगलागी पनि नियमित रूपमा दोहोरिने प्रमुख विपद्का रूपमा रहेको देखाएको छ ।
समितिले संकलन गरेको विवरणअनुसार आर्थिक वर्ष २०६४÷०६५ देखि २०८१÷०८२ सम्मका वर्षहरूमा आगलागीका घटनाबाट ठूलो संख्यामा घरधुरी तथा मानिस प्रभावित भएका छन् । तालिकामा समेटिएका घटनाबाट १५ हजारभन्दा बढी जनसंख्या प्रभावित भएको देखिन्छ भने ७ जनाको मृत्यु र ६० जना घाइते भएका छन् ।
समितिको योजनामा आगलागीका घटना विशेषगरी समुदायका मानिसले असावधानीपूर्वक आगो प्रयोग गर्नु तथा घरको बनोटका कारण हुने गरेको उल्लेख छ । गर्मी बढ्दै जाँदा खुला ठाउँमा आगो बाल्ने, खाना पकाउँदा सावधानी नअपनाउने, पराल तथा दाउरालगायतका ज्वलनशील वस्तु घरसँगै राख्ने र आगो निभाउने पर्याप्त व्यवस्था नहुँदा आगलागी फैलिने जोखिम बढ्ने गरेको छ ।
विपद् व्यवस्थापन समितिको विवरणले जिल्लाका सबै क्षेत्रमा आगलागीको जोखिम समान नरहेको देखाएको छ। डुडुवा गाउँपालिकाका होलिया र बेतहनी क्षेत्र तथा नरैनापुर गाउँपालिकाका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइया क्षेत्रमा आगलागीका घटना बढी हुने गरेको योजनामा उल्लेख गरिएको छ । यी क्षेत्रमा घरहरू एकअर्कासँग नजिक हुनु, घर तथा गोठमा पराल, दाउरा र अन्य ज्वलनशील सामग्री राखिनु तथा आगलागी नियन्त्रणका तत्कालीन साधन र पहुँच सीमित हुनुजस्ता कारणले एउटा घरमा लागेको आगो आसपासका घरमा समेत फैलिने जोखिम रहन्छ ।
ग्रामीण क्षेत्रमा मानवीय असावधानी र घरको संरचना आगलागीको प्रमुख जोखिमका रूपमा देखिए पनि बजार क्षेत्रमा विद्युत्सम्बन्धी आगलागीका घटना बढी हुने गरेको योजनाले औँल्याएको छ । बजार क्षेत्रमा विद्युत् तारको अव्यवस्थित प्रयोग, क्षमताभन्दा बढी विद्युतीय उपकरण सञ्चालन, पुराना तार तथा विद्युतीय प्रणालीमा हुने खराबीका कारण सर्ट सर्किटबाट आगलागी हुने जोखिम रहन्छ । बाक्लो बस्ती तथा व्यापारिक क्षेत्रमा एउटा पसल वा घरमा लागेको आगो तत्काल नियन्त्रणमा लिन नसके ठूलो क्षेत्रमा फैलिन सक्ने जोखिम हुन्छ ।
उपलब्ध वार्षिक विवरणले आगलागीको क्षति वर्षअनुसार निकै फरक रहेको देखाउँछ। केही वर्षमा आगलागीबाट प्रभावितको संख्या न्यून रहे पनि केही वर्षमा हजारौँ मानिस प्रभावित भएका छन् ।
तथ्यांक अनुसार, २०६८÷०६९ मा सबैभन्दा ठूलो संख्यामध्ये एक जनसंख्या प्रभावित भएको देखिन्छ । उक्त वर्षको विवरणमा ३ हजारभन्दा बढी मानिस प्रभावित भएको उल्लेख छ । त्यस्तै २०६७÷०६८ मा पनि एक हजारभन्दा बढी प्रभावित भएका थिए ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष दिलकुमार तामाङका अनुसार पश्चिम राप्ती नदीमा आउने बाढी, गर्मीयाममा हुने आगलागी तथा हिउँदमा चल्ने शीतलहरका कारण जिल्लाका अधिकांश परिवार तथा समुदाय विपद्को जोखिममा छन् । तुलनात्मक रूपमा हरेक वर्ष दोहोरिने र एकैपटक ठूलो जनसंख्यालाई प्रभावित पार्ने भएकाले बाढीलाई मुख्य प्रकोपका रूपमा लिइएको उनले बताएका छन् । तामाङका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि आगलागी, लू तथा डढेलो पूर्वतयारी योजना, शीतलहर पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामार्फत काम हुँदै आएको छ । साथै पछिल्लो समय पूर्वानुमानमा आधारित पूर्वतयारीका गतिविधि समेत कार्यान्वयनमा ल्याइएको छ । उनले २०७१ र २०७४ सालमा आएको बाढी बाँकेले व्यहोरेका ठूला विपद्का घटना भएको उल्लेख गर्दै नयाँ योजनाले स्थानीय तहमा निर्माण हुने विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनालाई सहयोग पु¥याउनुका साथै भविष्यमा हुने विपद्को प्रभावकारी प्रतिकार्यमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।






























