सुर्खेत चौकुने गाउँपालिका–५, रेक्चामा भएको हिसांत्मक घटनामा गम्भीर घाइते २ वर्षीया बालिकाको शल्यक्रिया भएको छ ।
नेपालगन्ज न्यूरो अस्पतालका प्रमुख डाक्टर ज्योसन न्यौपानेले टाउकोमा रगत जमेको अवस्था भएकाले तत्काल शल्यक्रिया गरिएको बताए ।
प्राप्त विवरणअनुसार रेक्चा निवासी गोपीराम जैसीले आफ्नी श्रीमती चन्द्रा देवकोटामाथि फरुवा प्रहार गरेको घटनामा चन्द्राको मृत्यु भएको र सोही घटनामा उनकी नाबालक छोरीसमेत गम्भीर घाइते भएकी हुन्।
न्युरो सर्जन डाक्टर न्यौपानेले भर्खरै शल्यक्रिया भएकाले स्वास्थ्य अवस्था सुधारका लागि समय लाग्ने बताए ।
पीडित परिवारले उपचारमा आर्थिक अभाव रहेको बताएको छ । बालिकाका दाजु सन्तोष जैसीले आर्थिक अवस्था अत्यन्त कमजोर रहेकोले परिवारले उपचार खर्च जुटाउन नसकेको दुखेसो गरे ।
यसअघि आर्थिक अभावले बालिकालाई अस्पतालबाट घर फर्काउनुपरेको समाचार प्रकाशमा आएको थियो ।चिकित्सकले तत्काल अप्रेसन गर्नुपर्ने बताए पनि रकम अभावका कारण उपचार अघि बढाउन नसकिएको परिवारको गुनासो गरेका थिए ।
बालिकाको जीवन जोखिममा पर्ने देखिएपछि नेपालगन्ज न्यूरो अस्पताल ल्याइएको सन्तोषले बताए ।
परिवारले आर्थिक अभावमा बालिकाको उपचारका लागि सहयोगी मनहरूसँग पहल गरिदिन आग्रह गरेको छ ।































