वरिष्ठ अधिवक्ता बन्न बहस होइन, योगदान र योग्यतालाई आधार बनाउनुपर्नेमा जोड
वरिष्ठ अधिवक्ताको उपाधि कसले कति बहस ग¥यो वा आवेदन दिने कानुन व्यवसायीको संख्या कति छ भन्ने आधारमा नभई दीर्घकालीन सेवा, व्यावसायिक परिपक्वता, योग्यता, क्षमता र न्याय क्षेत्रमा पु¥याएको योगदानका आधारमा निर्धारण गर्नुपर्नेमा नेपालगन्जका कानुन व्यवसायीले जोड दिएका छन् ।
वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयअनुकूल परिमार्जन गर्दै स्पष्ट, व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउनुपर्ने उनीहरूको सुझाव छ । सर्वोच्च अदालत वरिष्ठ अधिवक्ता सिफारिस समितिले नेपालगन्जमा बुधवार आयोजना गरेको सुझाव संकलन तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी कानुन व्यवसायीले उपाधिको योग्यतादेखि छनोट प्रक्रियासम्मका विषयमा यस्तो धारणा राखेका हुन् ।
सहभागीले वकालत पेसामा लामो समय बिताएका मात्र नभई न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा निरन्तर योगदान गरेका कानुन व्यवसायीलाई समेत वरिष्ठ अधिवक्ताको उपाधिको दायरामा ल्याउनुपर्ने बताए । अदालती न्याय सम्पादनमा उच्च व्यावसायिक आचरण कायम गरेका र आचारसंहिता पालना गरेका कानुन व्यवसायीलाई उपाधि प्रदान गर्नुपर्ने उनीहरूको भनाइ थियो ।
जिल्ला तहमा रहेर लामो समयदेखि निरन्तर कानुन व्यवसाय गर्दै आएका योग्य अधिवक्तालाई पनि सम्मानस्वरूप वरिष्ठ अधिवक्ताको उपाधिको दायरामा ल्याउनुपर्ने विषयमा कार्यक्रममा छलफल भएको थियो । वरिष्ठ अधिवक्ताका लागि आवेदन नदिएका तर योग्यता र क्षमता भएका कानुन व्यवसायीलाई पनि समग्र व्यावसायिक योगदानका आधारमा मूल्यांकन गर्नुपर्ने सहभागीले बताए ।
उनीहरूले उपाधि वितरणमा कोटागत वा पहुँचमा आधारित प्रणालीभन्दा स्पष्ट र वस्तुनिष्ठ मापदण्ड आवश्यक रहेको बताएका थिए । व्यावसायिक योगदान, दक्षता, आचरण, मूल्य–मान्यता, अनुभव र न्याय क्षेत्रमा पु¥याएको योगदानलाई छनोटको मुख्य आधार बनाउनुपर्ने उनीहरूको सुझाव थियो ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश एवं सर्वोच्च अदालत वरिष्ठ अधिवक्ता सिफारिस समितिका अध्यक्ष शारङ्गा सुवेदीले विगतका मापदण्ड र अभ्यासमा देखिएका समस्या तथा गुनासोलाई समेत ध्यानमा राखेर नयाँ मापदण्ड तयार गर्न सुझाव संकलन भइरहेको बताइन् । त्यसका लागि समितिले फिल्डमै पुगेर कानुन व्यवसायीसँग राय लिएको उनले बताइन् ।
कानुन व्यवसायीको व्यावसायिक योगदान, दक्षता, आचरण, मूल्य–मान्यता र न्याय क्षेत्रमा पु¥याएको योगदानलाई आधार बनाएर वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने उद्देश्य रहेको सुवेदीले बताइन् । बहसमा आफ्नो नाम समावेश गराउने वा कानुन व्यवसायीको संख्या बढी देखाउने प्रवृत्तिलाई मात्र आधार बनाउन नहुने उनको भनाइ थियो ।
वरिष्ठ अधिवक्ताको उपाधि औपचारिक रूपमा वितरण गर्ने विषय मात्र नभएको उल्लेख गर्दै सुवेदीले यसको गरिमा कायम राख्ने गरी मापदण्ड बनाउनुपर्ने बताइन् । उपाधिको स्वामित्व र गरिमा बारले समेत ग्रहण गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । फिल्डबाट प्राप्त सुझाव र अनुभवलाई समेटेर मापदण्ड निर्माण गर्ने उद्देश्यले सुझाव संकलन गरिएको उनले स्पष्ट पारिन् ।
कार्यक्रममा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवालीले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा त्यसको शाख र गरिमा अझ बढ्ने गरी मापदण्ड तय गर्न सुझाव संकलन गरिएको बताए । उनले उपाधि प्रदान गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन कानुन व्यवसायीका अनुभव र सुझाव महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, बार काउन्सिलका पार्षद अधिवक्ता इश्वरीप्रसाद ज्ञवाली, उच्च बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठलगायतले पनि वरिष्ठ अधिवक्ताको छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र थप परिष्कृत बनाउनुपर्ने धारणा राखेका थिए ।
अधिवक्ता वसन्त गौतमले व्यावसायिक मूल्य–मान्यता कायम राख्दै गुणस्तरीय कानुनी सेवा प्रदान गर्न सक्ने तथा पदीय गरिमा जोगाउन सक्ने कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधिमा प्राथमिकता दिनुपर्ने धारणा राखे । वकालतसँगै कानुन, न्याय र मानव अधिकारको क्षेत्रमा विशिष्ट अनुभव भएका कानुन व्यवसायीलाई पनि मूल्यांकनको दायरामा राखिनुपर्ने उनको सुझाव थियो ।
त्यसैगरी अधिवक्ताहरू प्रह्लादबहादुर कार्की, सुरेशकुमार गौतम, कमल पाण्डे, विकास आचार्य, वासुदेव ज्ञवाली, सुनिता शर्मा र अब्दुल हसिब सिद्दिकीलगायतले पनि वरिष्ठ अधिवक्ताको उपाधि वितरणका लागि स्पष्ट आधार र प्रभावकारी मूल्यांकन प्रणाली आवश्यक रहेको बताएका थिए ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तथा वरिष्ठ अधिवक्ता सिफारिस समितिका अध्यक्ष शारङ्गा सुवेदी प्रमुख अतिथि थिइन् । कार्यक्रमको सञ्चालन नेपालगन्ज उच्च अदालतकी अधिकृत अमृता केसीले गरेकी थिइन् ।






























