रारा विजय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा बचत गरेका बाँके जिल्लाका बचतकर्तालाई आफ्नो बचत रकमको प्रमाणसहित जाहेरी दिन इलाका प्रहरी कार्यालय कोहलपुरले आग्रह गरेको छ।
सहकारी दर्ता अधिकारीको कार्यालय, राप्ती उपत्यका (देउखुरी), दाङको पत्र जाहेरीका आधारमा नेपाल सरकार वादी र रारा विजय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक दीपक कुमार राई समेत प्रतिवादी रहेको सहकारी रकम अपचलन (हिनामिना) सम्बन्धी कसूरको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा सहकारीमा आबद्ध बचतकर्ताहरूको बचत रकम यकिन गर्नुपर्ने भएकाले बाँके जिल्लामा रहेका सम्बन्धित बचतकर्तालाई आफ्नो बचत रकम पुष्टि हुने प्रमाणसहित १० दिनभित्र इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दरखास्त दिन अनुरोध गरिएको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक हरि प्रसाद पुनद्वारा जारी सूचनामा सम्बन्धित सबै बचतकर्तालाई तोकिएको समयभित्र आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ।





























