उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदबले नेपालगन्जमा आयोजना गरेको ६०२औँ तरही मुशायरामा शनिवार नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य खगेन्द्र गिरी ‘कोपिला’ र साहित्यकार तथा शिक्षाविद् किरण आचार्य सम्मानित भएका छन् ।
महेन्द्र पुस्तकालयको सभाहलमा शनिबार आयोजित मुशायरामा नेपाली गजल साहित्यमा योगदान पु¥याउँदै आएका कोपिला र नेपाली साहित्य तथा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्यलाई खादा र मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो । दुवै जना नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा मनोनीत भएका छन् ।
संस्थाका संस्थापक तथा संरक्षक वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’को अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ सदस्यद्वय कोपिला र आचार्य विशेष अतिथिका रूपमा सहभागी थिए ।
मुशायरामा ‘ये वह चराग है जो आँधियों पे भारी है’ भन्ने मिसरा–ए–तरहमा आधारित रहेर शायरहरूले आफ्ना गजल वाचन गरेका थिए । प्रस्तुत गजलमा प्रेम, संवेदना, सामाजिक यथार्थ र मानवीय अनुभूतिका विविध पक्षलाई कलात्मक रूपमा अभिव्यक्त गरिएको थियो ।
सम्मानपछि मन्तव्य व्यक्त गर्दै प्राज्ञ सदस्य कोपिलाले गुल्जार–ए–अदबले लामो समयदेखि निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गरे । उनले संस्थाका शायर तथा साहित्यप्रेमीलाई बधाई दिँदै यस्ता कार्यक्रमले उर्दू भाषा, साहित्य र शायरीको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । उनले आगामी दिनमा पनि साहित्यिक गतिविधिलाई निरन्तरता दिन शुभकामना दिए ।
त्यसैगरी, प्राज्ञ सदस्य आचार्यले भाषा कुनै एक व्यक्ति वा समुदायको मात्र नभई सम्पूर्ण मानव समुदायको साझा सम्पत्ति भएको बताइन् । उनले उर्दू भाषा तथा साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानले बृहत् मुशायरा आयोजना गर्ने जानकारी दिइन् । सम्मानका लागि गुल्जार–ए–अदबप्रति आभार व्यक्त गर्दै उनले भाषा र साहित्यको संरक्षण तथा विकासमा यस्ता संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताइन् ।
मुशायरामा संस्थापक अब्दुल लतीफ ‘शौक’, अध्यक्ष मुस्तफा अहसन कुरैशी ‘अहसन’, डा. जैनुल आबिदीन, अन्सर नेपाली, मौलाना सब्बीर हुसैन, मेराज अहमद ‘हिमालय’, महासचिव मोहम्मद आरिफ अन्सारी, जियाउल हक हल्वाईलगायत शायरहरूले गजल वाचन गरेका थिए ।
कार्यक्रममा पूर्वप्राध्यापक तथा साहित्यकार खड्गबहादुर बोहरा, साहित्यकार भीमबहादुर शाही, डा. उमेर सादिक, हाजी जाकिर हुसैन, बब्बु फारुकी, रहिस हल्वाई, जामिम सब्बर, शाद हुसैन र पवन जैसवाललगायत साहित्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो ।
गुल्जार–ए–अदबले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा तरही मुशायरा आयोजना गर्दै आएको छ । संस्थाले निरन्तर सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमले नेपालगन्जमा उर्दू भाषा, साहित्य र शायरीको विकास तथा साहित्यिक वातावरणलाई सशक्त बनाउन योगदान पु¥याउँदै आएका छन् ।
कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहम्मद आरिफ अन्सारीले गरेका थिए ।






























