दसैँ मनाउन भारतबाट घर फर्किने नेपालीको घुइँचो नेपालगन्जस्थित नेपाल–भारत जमुनाहा नाकामा बढेको छ । तर, लामो यात्रा गरेर स्वदेश आइपुगेका नागरिकले आफ्नै देशमा सहजता र आत्मीयता पाउनुको सट्टा सास्ती भोग्नुपरेको गुनासो गरेका छन् ।
सीमामा जाँचका नाममा घण्टौं लाइनमा बस्नुपर्ने, घरायसी प्रयोजनका सामानमा भन्सारको डर देखाइने र गन्तव्यसम्म पुग्न यातायात तथा होटल व्यवसायीबाट समेत यात्रुलाई कमाइको माध्यम बनाउने प्रवृत्तिले चाडपर्वको खुसीमा खल्लोपन थपेको गुनासो बढेको छ । स्थानीय प्रशासनले त्यसमा ध्यान दिनुपर्ने माग यात्रुको छ ।
‘हामीले बन्दुक, चरेस बोकेर ल्याएजस्तो व्यवहार भइरहेको छ,’ शनिवार पुष्पलाल चोकमा परिवारसहित आफ्नो घर जाजरकोट जान लागेका एक यात्रुले दैनिक नेपालगन्जसँग भने, ‘सहजीकरण गरेर आफ्नो देश फर्किँदाको गौरव महसुस गराउनुपर्नेमा सजायको महसुस भयो ।’ उनको गुनासो सीमामा हुने जाँच र यात्रुलाई गरिने व्यवहारप्रति लक्षित थियो । स्वदेश फर्किने नागरिकलाई शंकाको दृष्टिले हेर्ने र अनावश्यक झन्झट दिने प्रवृत्तिमा सुधार हुनुपर्ने उनको भनाइ छ ।
ती यात्रुका अनुसार, भारततर्फ प्रविधि र कुकुर सुँघाएर गरिने जाँच केही समयमै सकिन्छ । तर, नेपाली नाकामा भने घण्टौं लाइनमा बस्नुपर्ने अवस्था छ । लामो यात्रापछि सीमामा आइपुगेका नागरिकले सहज रूपमा प्रवेश पाउनुपर्नेमा उल्टै हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । आफैंले प्रयोग गरेका र घरमा लैजान ल्याएका सामानमा समेत भन्सारको डर देखाएर अनधिकृत असुली गरिने गरेको कतिपय यात्रुले बताएका छन् ।
सीमामा यात्रुले भोग्ने सास्ती जाँचमा मात्र सीमित छैन । जमुनाहा नाकाबाट नेपालगन्ज र त्यसपछि आफ्नो गन्तव्यसम्म पुग्न खोज्ने यात्रुलाई अटो रिक्सा चालक, होटल सञ्चालक र सवारीसाधनका चालकबीचको कमिसनमुखी व्यवहारले थप समस्यामा पार्ने गरेको गुनासो छ । यात्रुलाई सेवा दिनुपर्ने पक्षले नै उनीहरूलाई कमाइको माध्यम बनाउँदा स्वदेश फर्किने नागरिकको बाध्यता झन् बढेको छ ।
जमुनाहाबाट यात्रु बोकेर आउने केही अटो रिक्सा चालकले प्रतिव्यक्ति एकसय नेपाली रुपैयाँ भाडा लाग्ने भन्दै यात्रु चढाउने र पछि भारतीय रुपैयाँ असुल्ने गरेको गुनासो पनि छ । नेपाली र भारतीय रुपैयाँबीचको विनिमयको अन्योल तथा सीमाबाट पहिलोपटक आउने यात्रुको अपरिचित अवस्थाको फाइदा उठाउँदै बढी रकम लिने प्रवृत्तिले यात्रु ठगिने जोखिम बढाएको छ । भाडा पहिले नै स्पष्ट नगर्ने र गन्तव्यमा पुगेपछि रकमका विषयमा विवाद हुने अवस्थाले यात्रुलाई थप तनाव दिने गरेको छ । ‘नेपालभित्र भारतीय रुपियामा कुरा भएको थियो भन्ने अटोका अपराधलाई कस्ले नियमन गर्ने ?,’ यात्रुको गुनासो छ ।
यात्रुलाई होटलसम्म पु¥याउने नाममा पनि उनीहरूलाई कारोबारको वस्तुजस्तो बनाउने प्रवृत्ति रहेको गुनासो छ । केही अटो चालक वा बिचौलियाले यात्रुको संख्या गनेर होटल सञ्चालकसँग मिलेमतो गर्ने र यात्रुलाई निश्चित होटलमा पु¥याएबापत लाभ लिने गरेको बताइन्छ । होटलमा पुगेपछि त्यही यात्रुलाई आवश्यक अर्को गाडी वा चालकमार्फत गन्तव्यसम्म पठाउने क्रममा पनि यात्रुको संख्या र कारोबारका आधारमा लेनदेन हुने गरेको पाइएको छ । यसरी यात्रुलाई आवश्यकताअनुसार सेवा उपलब्ध गराउनुभन्दा होटल र यातायात व्यवसायीको कमाइसँग जोडेर हेर्ने प्रवृत्तिले स्वदेश फर्किने नागरिकमाथि आर्थिक भार थप्ने गरेको छ ।
विशेषगरी भारतबाट बस तथा रेलमा लामो दूरीको यात्रा गरेर जमुनाहा नाकासम्म आइपुग्ने यात्रु थकित अवस्थामा हुन्छन् । उनीहरूमध्ये धेरैलाई नेपालगन्जबाट अर्को सवारीसाधन समातेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुग्नुपर्ने हुन्छ । यस्तो अवस्थामा गन्तव्य, भाडादर र यातायातको जानकारी नहुँदा उनीहरू बिचौलियाको प्रभावमा पर्ने जोखिम बढी हुन्छ । यात्रुको यही बाध्यताको फाइदा उठाउने प्रवृत्ति नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
दसैँ पर्व सुरु भएसँगै जमुनाहा नाकामा स्वदेश फर्किने नेपालीको संख्या उल्लेख्य रूपमा बढेको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म नाकामा घर फर्किने यात्रुको घुइँचो लाग्ने गरेको छ । पछिल्ला केही दिनयता दैनिक करिब १० हजार नेपाली यही नाका हुँदै स्वदेश फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले बताए । ‘आज ८ हजारबढी आइसक्नु भयो,’ शनिवार अपरान्ह दैनिक नेपालगन्जसँग कुरा गर्दै उनले भने, ‘साँझसम्म अरु आउनुहुन्छनै ।’
उनका अनुसार, गत सातासम्म दैनिक पाँचदेखि ६ हजार नेपाली स्वदेश फर्किने गरेका थिए । तर, दसैँ नजिकिएसँगै यो साता दैनिक फर्किनेको संख्या बढेर करिब १० हजार पुगेको छ । ‘गत सातासम्म यो नाकाबाट दैनिक पाँचदेखि छ हजारसम्म नेपाली स्वदेश फर्किरहेका थिए भने यो साता दैनिक करिब १० हजार जना फर्किरहेका छन्,’ प्रहरी निरीक्षक भट्टराईले भने । ‘यो क्रम अब केही दिनमा घट्ला,’ उनले भने । उनले भारतमा काम गरेर आउनेहरुलाई सहजताका लागि सक्दो प्रयास गरिरहेको बताए । ‘केही गरि सास्ती नहोस् भन्नेमा हामी सचेत छौं,’ उनले भने, ‘तर धेरै जनाको आवागमन भइरहँदा केही समय लागेकोमा पनि सक्दो सहजताको प्रयास गरिरहेका हुन्छौं ।’
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार, पछिल्लो साता मात्रै यो नाका हुँदै ६० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । भारतमा रोजगारी, व्यवसाय तथा अन्य कामका सिलसिलामा रहेका नेपाली दसैँ मनाउन घर फर्किने क्रम बढेसँगै सीमामा यात्रुको चाप थपिएको हो । नाकाबाट भित्रिने अधिकांश यात्रु लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका बासिन्दा रहेका छन् ।
भारतबाट लामो दूरीको यात्रा गरेर स्वदेश फर्किएका नेपालीले आफ्नै देशको भूमिमा प्रवेश गरेपछि सहज र सुरक्षित यात्रा गर्न पाउनुपर्ने अपेक्षा राख्छन् । तर, सीमामा जाँचको झन्झट, यातायातको भाडामा पारदर्शिताको अभाव, भारतीय रुपैयाँ र नेपाली रुपैयाँको कारोबारमा हुने अन्योल तथा होटलसम्म पु¥याउने नाममा यात्रुको संख्या गनेर गरिने कथित लेनदेनले उनीहरूको यात्रालाई कठिन बनाउने गरेको छ । चाडपर्वमा घर फर्किने नागरिकको बढ्दो चापलाई अवसर बनाएर हुने सम्भावित ठगी र अनधिकृत असुली रोक्न प्रशासनले प्रभावकारी निगरानी गर्नुपर्ने देखिन्छ ।
विगतका वर्षमा चाडपर्वका बेला भारतबाट फर्किने नेपालीले विभिन्न समस्या भोग्नुपरेको अवस्थालाई ध्यानमा राख्दै जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रमा हुने लुटपाट तथा ठगी रोक्न र यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्न सहायता कक्ष सञ्चालन गरिएको जनाएको छ । सहायता कक्षको उद्देश्य यात्रुलाई आवश्यक जानकारी उपलब्ध गराउनु, समस्यामा परेकालाई सहयोग गर्नु र सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रणमा सघाउनु हो ।
यात्रुको चाप बढेसँगै प्रहरीले जमुनाहा नाकादेखि नेपालगन्ज र कोहलपुरका बसपार्कसम्म सुरक्षाकर्मी परिचालन गरी निगरानी बढाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले सादा पोसाकमा समेत सुरक्षाकर्मी खटाएको जनाइएको छ । यसले सीमाबाट बसपार्कसम्म यात्रुलाई हुन सक्ने लुटपाट, ठगी र अन्य असुरक्षित गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तर, यात्रु सहायता कक्ष स्थापना गर्नु र सुरक्षाकर्मी परिचालन गर्नु मात्रै पर्याप्त हुँदैन । यात्रुले वास्तविक रूपमा कस्तो व्यवहार भोगिरहेका छन् भन्ने विषयमा नियमित अनुगमन आवश्यक छ । अटो रिक्सा तथा अन्य सवारीसाधनको भाडादर स्पष्ट गराउने, यात्रुलाई गन्तव्यसम्म पु¥याउने नाममा हुने बिचौलियाको गतिविधि नियन्त्रण गर्ने, होटलमा यात्रु पठाउने क्रममा हुने भनिएको कमिसनको छानबिन गर्ने र घरायसी सामान बोकेर फर्किने नागरिकलाई भन्सारसम्बन्धी स्पष्ट जानकारी दिने व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।
स्वदेश फर्किने नेपाली नागरिक सीमामा आइपुग्दा उनीहरूलाई शंकाको घेरामा राखेर व्यवहार गर्नुको सट्टा कानुनी प्रक्रिया पूरा गर्दै सहज प्रवेशको व्यवस्था गरिनुपर्छ । सुरक्षा जाँच आवश्यक भए पनि त्यसका नाममा अनावश्यक ढिलाइ, अपमानजनक व्यवहार वा आर्थिक शोषण स्वीकार्य हुन सक्दैन । चाडपर्वका बेला परिवारसँग भेट्न हतारिएका यात्रुलाई सम्मानजनक व्यवहार गर्नु र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउनु सम्बन्धित निकायको दायित्व हो ।
दसैँ मनाउन घर फर्किने नेपालीको संख्या दैनिक करिब १० हजार पुगेको अवस्थामा जमुनाहा नाकामा यात्रु व्यवस्थापनसँगै मानवीय व्यवहार सुनिश्चित गर्नु झन् आवश्यक बनेको छ । सीमामा सुरक्षा व्यवस्था कडा बनाउने कामसँगै यात्रुलाई ठगीबाट जोगाउने, भाडादरमा पारदर्शिता कायम गर्ने र होटल तथा यातायात व्यवसायीका नाममा हुने भनिएको बिचौलियाको गतिविधि रोक्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । ‘आफ्नै देश फर्किएका नागरिकले स्वदेश प्रवेश गर्दा अपमान र सास्ती होइन, सुरक्षा, सम्मान र आत्मीयता महसुस गर्न पाउनुपर्छ,’ नेपालगन्जका व्यवसायीहरु भन्छन्, ‘व्यवहार सुधार भएन भने नागरिकले नाका परिवर्तन गर्ने जोखिम हुन्छ, त्यसले नेपालगन्ज बजारलाई नोक्सानी हुन्छ ।’






























