कल्पना गर्नुहोस्, एउटा यस्तो बिहान जहाँ तपाईंभन्दा पहिले नै कृत्रिम बुद्धिमत्ता (एआई) उठिसकेको हुन्छ । तपाईं निद्राबाट ब्युँझिनुअघि नै उसले तपाईंको दिनको सुरुवातका लागि आवश्यक तयारी गरिसकेको हुन्छ । तपाईंले आँखा खोल्नुअघि नै संसारभरका ताजा खबर तपाईंको मोबाइलमा आइपुगिसकेका हुन्छन् । तपाईंको रुचि, बानी र आवश्यकताअनुसारका सामग्री तपाईंको प्रतीक्षामा हुन्छन् । तपाईंको अनुहार वा औँलाको स्पर्शले मोबाइलको ढोका खुल्छ । तपाईंले के खोज्दै हुनुहुन्छ भन्ने कुरा कतिपय अवस्थामा तपाईंले आफैँ सोच्नुअघि नै प्रविधिले अनुमान गरिसकेको हुन्छ ।
सुन्दा कुनै विज्ञानकथाको दृश्यजस्तो लाग्न सक्छ । तर यो भविष्यको कल्पना मात्र होइन, हाम्रो वर्तमानको एउटा सामान्य दृश्य बनिसकेको छ ।
आज विश्वभर तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मानिसको दैनिक जीवनलाई यति नजिकबाट छोइसकेको छ कि कतिपय अवस्थामा हामी यसको प्रयोग गरिरहेका हुन्छौँ, तर यसको उपस्थितिसमेत महसुस गर्दैनौँ ।
तपाईंले सामाजिक सञ्जाल खोल्दा देखिने सामग्रीदेखि मोबाइलले चिन्ने तपाईंको अनुहारसम्म, फोटो तथा भिडियो सम्पादनदेखि चलचित्रका विशाल दृश्य प्रभावसम्म, शिक्षादेखि स्वास्थ्यसम्म, सुरक्षा प्रणालीदेखि साइबर आक्रमणसम्म, बैंकिङदेखि व्यावसायिक प्रक्रियासम्म र यातायातदेखि सञ्चारसम्म प्रविधिको यो नयाँ अध्याय फैलिँदै गएको छ । कतै यसले कामलाई सहज बनाइरहेको छ त कतै मानिसले वर्षौँ लगाएर गर्ने काम केही क्षणमै सम्पन्न गरिरहेको छ । यसको प्रयोगसँगै दुरूपयोगका सम्भावना पनि बढिरहेका छन् ।
तर कहिल्यै सोच्नुभएको छ, यी सबै कसरी सम्भव भइरहेका छन् ? हाम्रो रुचि मोबाइलले कसरी चिन्छ ? अनुहार देख्नेबित्तिकै फोनले कसरी आफ्नो मालिक पहिचान गर्छ ? हामीले नखोजेका सामग्रीसमेत हाम्रो स्क्रिनमा कसरी आइपुग्छन् ?
यसको पछाडि न कुनै जादु छ, न कुनै रहस्यमय शक्ति । यो त विज्ञान, गणित, तथ्यांक र प्रविधिको संयोजनबाट विकसित भएको कृत्रिम बुद्धिमत्ताको संसार हो ।
यद्यपि आज ‘एआईको चमत्कार’ भन्ने शब्द जताततै सुनिए पनि एआई वास्तवमा के हो भन्ने विषयमा अझै धेरै मानिस स्पष्ट छैनन् । के एआई भनेको रोबोट मात्रै हो? के यो मोबाइलभित्र लुकेको कुनै प्राविधिक जादु हो ? के यसले मानिसलाई नै विस्थापित गर्न सक्ने शक्तिशाली यन्त्रको प्रतिनिधित्व गर्छ ? अथवा मानिसले दिएको निर्देशनअनुसार मात्र काम गर्ने कम्प्युटर प्रणाली हो ?
प्रश्न अनेक छन् । तर यसको उत्तर बुझ्न हामीले प्रविधिको पर्दापछाडि लुकेको एउटा सामान्य सत्य बुझ्नुपर्छ ।
सरल भाषामा भन्नुपर्दा, कृत्रिम बुद्धिमत्ता भनेको मानिसले सामान्यतः गर्ने केही बौद्धिक काम कम्प्युटर वा मेसिनबाट गराउने प्रविधि हो । सिक्ने, समस्या पहिचान गर्ने, भाषालाई बुझ्ने, निर्णयका लागि विकल्प सुझाउने र उपलब्ध तथ्यांकका आधारमा अनुमान गर्ने क्षमताको विकास गर्नु यसको मूल उद्देश्य हो ।
तर प्रविधि आफैँ जन्मिँदैन। यसको परिकल्पना मानिसले गर्छ, विकास मानिसले गर्छ र यसको आवश्यकता पनि मानिसकै जीवनबाट उत्पन्न हुन्छ । मानिसले बनाएको प्रविधि मानिसकै आवश्यकता पूरा गर्न प्रयोग हुन्छ । त्यसैले एआईको कथा केवल मेसिनको विकासको कथा होइन, यो मानिसको जिज्ञासा, कल्पना र आफ्नो क्षमताभन्दा पर पुग्ने प्रयासको कथा पनि हो ।
तर मानिसले मेसिनलाई बुद्धिमान् बनाउने सपना कहिलेदेखि देख्न थाल्यो ?
आज हामीले केही सेकेन्डमै प्रश्नको उत्तर दिने एआईसँग संवाद गरिरहेका छौँ । तर मेसिनले मानिसजस्तै सोच्न सक्छ कि सक्दैन भन्ने प्रश्न आजको होइन । आधुनिक कम्प्युटरको विकास हुनुभन्दा धेरै अघिदेखि नै मानिसको मनमा यो जिज्ञासा जन्मिएको थियो ।
आधुनिक कृत्रिम बुद्धिमत्ताको वैज्ञानिक आधार सन् १९४० र १९५० को दशकमा विकसित हुन थाल्यो । यस यात्रामा बेलायती गणितज्ञ तथा कम्प्युटर वैज्ञानिक एलन ट्युरिङको योगदान निकै महत्वपूर्ण रह्यो ।
सन् १९५० मा उनले ’कम्प्युटिङ मेसिनरी एन्ड इन्टेलिजेन्स’ शीर्षकको अनुसन्धानपत्र प्रकाशित गरे । त्यसमा उनले एउटा असाधारण प्रश्न उठाए– के मेसिनले सोच्न सक्छ ?
यो एउटा वैज्ञानिक प्रश्नमात्रै थिएन, मानिसको बुद्धिमत्ता र मेसिनको क्षमताबीचको सीमारेखा पहिल्याउने प्रयास पनि थियो । ट्युरिङले मेसिनले मानिससँग संवाद गर्दा मानिस र मेसिनबीचको भिन्नता छुट्याउन सकिन्छ कि सकिँदैन भनेर परीक्षण गर्ने विधि प्रस्ताव गरे । यही अवधारणा पछि ‘ट्युरिङ टेस्ट’का रूपमा परिचित भयो ।
त्यसपछि सन् १९५६ मा अमेरिकाको डार्टमाउथ कलेजमा वैज्ञानिकहरूको एउटा सम्मेलन आयोजना भयो । अमेरिकी कम्प्युटर वैज्ञानिक जोन म्याकार्थीले त्यही सम्मेलनको सन्दर्भमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् कृत्रिम बुद्धिमत्ता शब्द औपचारिक रूपमा प्रयोग गरे । यसै वर्षलाई एआई छुट्टै वैज्ञानिक अनुसन्धान क्षेत्रका रूपमा स्थापित भएको महत्त्वपूर्ण मोड मानिन्छ ।
यस यात्रामा एलन ट्युरिङ र जोन म्याकार्थी मात्रै थिएनन् । मार्भिन मिन्स्की, क्लाउड श्यानन, एलेन नेवेल, हर्बर्ट साइमन र आर्थर स्यामुएलजस्ता वैज्ञानिकहरूले पनि यसको जग बलियो बनाउन महत्त्वपूर्ण योगदान दिए। कसैले मेसिनको तर्कशक्ति बुझ्ने प्रयास गरे, कसैले मानिसले जस्तै समस्या समाधान गर्न सक्ने कार्यक्रम बनाए त कसैले अनुभवबाट मेसिनलाई सिकाउन सकिने सम्भावनाको खोजी गरे ।
यी सुरुवाती प्रयासहरू नै आजको मेसिन लर्निङ, रोबोटिक्स, प्राकृतिक भाषा प्रशोधन र जेनेरेटिभ एआईसम्म आइपुग्ने लामो यात्राका आधार बने ।
सायद त्यतिबेला ती वैज्ञानिकहरूले कल्पना पनि गरेका थिएनन् होला, उनीहरूले उठाएको एउटा प्रश्नले कुनै दिन मानिसको खल्तीभित्रै बसेर मानिससँग संवाद गर्ने, कविता लेख्ने, तस्बिर बनाउने र जटिल समस्याको समाधान खोज्ने प्रविधिको रूप लिनेछ । आज हामी त्यही यात्राको एउटा विकसित चरणमा उभिएका छौँ । कुनै समय वैज्ञानिकको प्रयोगशालामा सीमित रहेको मेसिनलाई बुद्धिमान् बनाउने सपना आज हाम्रो हातमा रहेको मोबाइलदेखि संसारका ठूला प्रविधि प्रणालीसम्म आइपुगेको छ । तर यो यात्राले हामीसामु केही नयाँ प्रश्न पनि खडा गरेको छ ।
हामीले कम्प्युटरलाई वर्षौँदेखि निर्देशन दिएर काम गराउँदै आएका छौँ । तर, अहिलेका एआई प्रणालीले मानिसले दिएको निर्देशन पछ्याउने मात्र होइन, उपलब्ध तथ्यांकबाट सिक्ने, नयाँ सामग्री सिर्जना गर्ने र सम्भावित उत्तरसमेत अनुमान गर्ने क्षमता देखाइरहेका छन् । आखिर परम्परागत कम्प्युटर प्रोग्रामिङ र कृत्रिम बुद्धिमत्ताबीचको वास्तविक भिन्नता के हो ?
अर्कोतर्फ, बिहान उठ्नेबित्तिकै हाम्रो मोबाइलमा देखिने समाचार, सामाजिक सञ्जालले सुझाउने भिडियो, हामीले बोलेको भाषा बुझ्ने भर्चुअल सहायक र अनुहार चिनेर खुल्ने मोबाइलजस्ता दैनिक जीवनका सामान्य गतिविधिमा एआई कसरी जोडिएको छ ? के हामीले एआईलाई प्रयोग गरिरहेका छौँ वा एआईले पनि हाम्रो बानी र व्यवहारलाई पढिरहेको छ ?
यी प्रश्नभन्दा पनि अझ गहिरो एउटा जिज्ञासा छ, के मेसिनले साँच्चै मानिसले जस्तै सोच्न सक्छ ? कि उसले केवल तथ्यांकमा रहेका ढाँचा पहिचान गरेर सम्भावित उत्तर र परिणामको अनुमान मात्रै गरिरहेको हुन्छ ?
सायद एआईको वास्तविक कथा यहीँबाट अझ रोचक बन्न थाल्छ । किनकि मेसिनलाई बुद्धिमान् बनाउने मानिसको सपना त हामीले बुझ्यौँ, तर त्यो बुद्धिमत्ता वास्तवमा कसरी काम गर्छ भन्ने रहस्य अझै बाँकी नै छ ।
आखिर एआई र परम्परागत कम्प्युटर प्रोग्रामिङबीच के फरक छ ? हाम्रो दैनिक जीवनमा एआई कहाँ–कहाँ लुकेको छ ? अनि के मेसिनले साँच्चै सोच्न सक्छ ? दैनिक नेपालगन्जमार्फत ‘एआई आज’ यही खोजीको क्रमशः एउटा नियमित शृंखला हो । (एलटियूमा बि–टेक इन सीएस एआई अध्ययनरत सन्ध्याले ‘एआई आज’ मार्फत विषयगत स्तम्भको प्रारम्भ गरेकी छन् ।)




























