‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने सन्देशसहित शनिवार २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती नेपालगन्जमा मनाइएको छ । ‘प्रकृतिअनुकूल आहार, औषध र विहारः रोगमुक्त समाजको आधार’ भन्ने मूल नाराका साथ नेपालगन्ज–४ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा डा. यादवप्रसाद उपाध्यायले धन्वन्तरी जयन्तीको धार्मिक तथा ऐतिहासिक महत्त्वबारे प्रकाश पारेका थिए । त्यस्तै, कार्यक्रम सहजीकरण गरेका डा. शिवराज सुवेदीले आयुर्वेद, स्वस्थ जीवनशैली र आयुर्वेदिक शल्यचिकित्सामा सुश्रुत संहिताको योगदानबारे जानकारी गराएका थिए ।
सहभागीहरूले आयुर्वेदमा उल्लेखित स्वस्थ जीवनशैली, दैनिक दिनचर्या, सन्तुलित आहारविहार र नियमित योगाभ्यासले नसर्ने रोगको जोखिम न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । विशेषगरी पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएकाले खानपान, शारीरिक सक्रियता र जीवनशैलीमा सुधार आवश्यक रहेकोमा जोड दिइएको थियो ।
कार्यक्रममा भगवान् धन्वन्तरीको प्रादुर्भाव, मानव सभ्यतामा आयुर्वेदको योगदान तथा सुश्रुत संहितामा उल्लेखित शल्यचिकित्सासम्बन्धी ज्ञानले मानव स्वास्थ्य र चिकित्सा क्षेत्रमा पु¥याएको योगदानबारे समेत चर्चा गरिएको थियो ।
सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य, स्थानीय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, योगसँग आबद्ध प्रतिनिधि, ज्येष्ठ नागरिक सञ्जालका पदाधिकारी तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्ट प्रमुख अतिथि तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा विशिष्ट अतिथि थिए ।
कार्यक्रममा नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख गोविन्द पौडेल, पतञ्जलि योग समिति बाँकेका अध्यक्ष पुष्कर आचार्य, स्वावलम्बी ज्येष्ठ नागरिक समाज बाँकेका अध्यक्ष नरबहादुर ठकुरी, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सचिव तथा अधिवक्ता वसन्त गौतम र मानव अधिकार मञ्चका लुम्बिनी संयोजक ज्ञानबहादुर घिमिरेलगायतको उपस्थिति थियो ।





























