दैनिक नेपालगन्ज
भारतीय फूललाई विस्थापित गर्ने उद्देश्यले बाँकेमा सयपत्री फूलको व्यावसायिक खेती विस्तार गरिए पनि नेपालगन्जमा भारतबाट आयात गरिएका कृत्रिम प्लास्टिकका फूलमालाको बिक्री भने खुलेआम भइरहेको छ । प्रतिबन्ध नलगाइँदा बजारका विभिन्न स्थानमा प्लास्टिकका फूलमाला बिक्रीका लागि राखिएका छन् ।
भारतीय सीमासँग जोडिएको नेपालगन्जका विभिन्न बजारमा अहिले कृत्रिम फूलमालाको बिक्री बढेको छ । उपमहानगरको सदरलाइनमा लागेको दीपावली मेलाका प्रायः हरेक पसलमा प्लास्टिकका माला बिक्री भइरहेका छन् । त्यस्तै, बिस्कोरियन टोलका पसलहरूमा थोकमै ठूलो परिमाणमा कृत्रिम फूलमालाको कारोबार भइरहेको छ ।
प्लास्टिकका माला हेर्दा आकर्षक देखिए पनि तिनको प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्नेबारे धेरै उपभोक्ता जानकार नभएको नेपालगन्जका हरित अभियन्ता हेमन्तराज काफ्लेले बताए । उनले यस वर्ष जिल्लामा सयपत्री फूलको उत्पादन उल्लेख्य भएकाले स्थानीय उत्पादनले नै माग धान्न सक्ने अवस्था रहेको जनाउँदै प्लास्टिकका माला प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरे ।
स्वदेशी फूलबाटै बजारको माग पूरा गर्ने उद्देश्यले फूलखेतीमा लागेका स्थानीय व्यवसायी सुभाष सिंह शाहले यस वर्ष भारतीय फूलको आयात धेरै घटे पनि प्लास्टिकका मालाको आयात भने नरोकिएको बताए । उनका अनुसार कृत्रिम मालाको बिक्रीले स्थानीय सयपत्री फूलको व्यापारसमेत प्रभावित बनाएको छ ।
स्थानीय फूल व्यवसायीहरूले भारतबाट आयात हुने फूलजस्तै प्लास्टिकका माला पनि गुणस्तर र स्वास्थ्यका दृष्टिले हानिकारक हुन सक्ने भन्दै यस्ता मालाको प्रयोग निरुत्साहित गर्न आग्रह गरेका छन् । स्थानीय स्तरमै सयपत्री फूलको उत्पादन बढिरहेका बेला कृत्रिम मालाको खुला बिक्रीले स्वदेशी फूल उत्पादकको बजारमा चुनौती थपेको उनीहरूको भनाइ छ ।





























