१. कोशी प्रदेश सरकार गठनविरुद्ध कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बनेका हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारविरुद्ध केदार कार्कीले दायर गरेको रिट खारेजको फैसला गरेको छ ।
२. प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको विनियोजन विधेयक (बजेट) पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
३. परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् ।
४. प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ । सभाको मंगलबारको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए ।
५. कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका उक्त आयोजना सञ्चालन नहुँदा स्थानीयवासीले खानेपानीको समस्या भोगिरहेका छन् । ती समस्या समाधान गर्ने तयारी खानेपानी मन्त्रालयको छ । अधुरा र विविध कारणले सञ्चालन हुन नसकेका दुई सय ८० वटा खानेपानी आयोजना सञ्चालन गर्न करिब रु तीन अर्ब लाग्ने अनुमान गरिएको छ ।
६. यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको छ ।
७. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुने भएकाले सबैको एकतामा जोड दिए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने धारणा व्यक्त गरे ।
८. राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन् ।