१. प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । दाहालले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा शुक्रबार पाँचौं पटक संसद्बाट विश्वासको मत लिएका थिए ।
२. प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री दाहालले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।
३. उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्ने क्रममा लामिछानेले उक्त कुरा बताएका हुन् ।
४. ‘रेड एड्भाइजरी’ (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी चलाउन नपाइने भएको छ । शुक्रबार गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा बसेको बैठकले उक्त निर्णय गरको हो ।
५. नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस शुक्रबार साँझसम्म पनि भेटिएका छैनन् ।
६. विगत २४ घण्टामा नेपालमा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ ।
७. स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जन गरेको नयाँ विवरण तथा दररेट सार्वजनिक गरेको छ । बोर्डले नयाँ दररेट १ साउनदेखि लागू हुने जनाएको छ ।
८. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अब बन्ने नयाँ सरकारलाई गुण र दोषका आधारमा समर्थन गर्ने बताएको छ । पार्टी नेता मेटमणि चौधरीले सरकारमा सहभागी नहुने बताएका हुन् ।