बाँकेमा ट्राफिक उल्लंघन गर्ने क्रम बढ्दो रहेको कारवाहीको तथ्यांकबाट देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०८०÷८१ मा ३३ हजार बढी सवारी साधनलाई कारवाही गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार, आर्थिक बर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लंघन गर्ने ३३ हजार ९ सय १३ वटा सवारीसाधनलाई कारवाही गरिएको हो । उनीहरूलाई २ करोड ६५ लाख ७६ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ४ लाखले बढी हो ।
बाँकेमा आर्थिक बर्ष २०७९÷८० मा ट्राफिक प्रहरीले ४३ हजार ८ सय ४० वटा सवारी साधनलाई कारवाही गरेको थियो । उक्त कारवाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरेको थियो ।
त्यस्तै, आर्थिक बर्ष २०७८÷७९ मा ट्राफिक प्रहरीले ३९ हजार ८ सय ४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो । उक्त आ.व.मा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५ सय रूपैयाँ जरिवाना असुली गरेको थियो ।
ट्राफिक प्रहरीले नियमित बाँकेमा चेकजाँचको कार्य गर्दै आएको बाँके ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदी बताउँछन् ।
कतिपय बेला ट्राफिक प्रहरीले नियम पालना नगरेका सवारीसाधनलाई कारवाही गर्दा विवाद समेत सिर्जना हुने गरेको छ ।
बाँकेमा तिव्र गति, मापसे, सडक, छाडा पशुचौपाया लगायत दुर्घटनाका प्रमुख कारण रहेको ट्राफिक प्रहरी बताउँछन् । इरिक्सा आवश्यकता भन्दा बढी हुँदा पनि त्यसले ट्राफिक अव्यवस्था निम्त्याएको प्रहरी अधिकारी बताउँछन् ।
तीन गुणा बढी सचेतनाका कार्यक्रम
बाँकेका ट्राफिक सचेतनाका कार्यक्रम विगतका आ.व. भन्दा गत आ.व.मा ह्वात्तै वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणको उद्देश्यले सचेतनाका कार्यक्रमहरूमा तिव्रता दिएको बताउँछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख सुवेदीले गत आ.व. २०८०÷०८१ मा सचेतनाका २ हजार ४ सय ७८ वटा कार्यक्रमहरू गरेको जानकारी दिएको छ । जुन अघिल्लोको आ.व.को तुलनामा तीन गुणा भन्दा बढी हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०७८÷७९ मा सचेतनाका २ सय ८०, आर्थिक बर्ष २०७९÷०८० मा सचेतनाका ७ सय ७३ वटा कार्यक्रमहरू सञ्चालन भएका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरिक्षक सुवेदीले आ.व. २०८०÷०८१ मा १ लाख २९ हजार १ सय ४८ जनालाई ट्राफिक नियम सिकाइएको जानकारी दिए ।
‘स्कुलका विद्यार्थी, अभिभावक, पैदल यात्रु, विभिन्न टोलका व्यक्ति, सवारी चालक, कर्मचारी, सवारीसाधनका यात्रुलाई ट्राफिक नियम बारे सचेतना फैलाउँदै आएका छौं’, ट्राफिक प्रमुख सुवेदी भन्छन्, ‘सकेसम्म सबै क्षेत्रलाई सचेतनाको कार्यक्रममा समेट्ने प्रयास गरेका छौंै ।’