१. प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान गरिने बताएका हुन् ।
२. उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटघाटका क्रममा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताएका हुन् ।
३. लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले दाबी पेश गरेका छन् । एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित ५६ जनाको समर्थनमा दाबी पेश भएको हो ।
४. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध लड्दालड्दै सरकारबाट हटाएको टिप्पणी गरेका छन् । सोमबार बिहान खुमलटारस्थित निवासमा वाईसीएलका नेता–कार्यकर्ताहरुसँगको भेटमा प्रचण्डले सो धारणा राखेका हुन् ।
५. नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ ।
६. ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सिँचाइ विभागअन्तर्गतका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना समयमै सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
७. कैलाली जिल्लामा सञ्चालित दुई सय ८९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
८. बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्ला अदालत लमजुङले लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ । अदालतका श्रेस्तेदार भेषराज पौडेलका अनुसार वार्षिक फछ्र्यौट लक्ष्य पाँच सय ७४ मुद्दा रहेकामा गत आवमा छ सय ७९ फछ्र्यौट गरिएको छ ।