१. सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जनलाई झिकाउन सरकारलाई निर्देशन दिएको छ ।
२. पोखरामा आमाछोराको मृत्यु हुने गरी सोमबार भएको स्कुल बस दुर्घटनामा ‘ओभरस्पिड’ कारण रहेको बसमा सवार विद्यार्थीले बताएका छन् । घाइतेलाई भेट्न अस्पताल पुगेका पोखरा महानगर प्रमुख धनराज आचार्यसँग कुरा गर्दै विद्यार्थीले बस दुर्घटनाअघि तीव्र गतिमा रहेको बताएका हुन् ।
३. कांग्रेसले प्रतिनिधिसभाको कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा सांसद कुसुमदेवी थापालाई अघि सार्ने भएको छ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले थापालाई पार्टीले अघि सार्ने जानकारी दिए ।
४. सिरहाको मिर्चैया नगरपालिका कल्याणपुर नगरपालिका हुँदै कमला नदीमा मिसिने बतहा खोलाले धार परिवर्तन गरेको छ । गत असारमा परेको अविरल वर्षापछि आएको बाढीसँगै खोलाले धार परिवर्तन गरेको हो ।
५. नेपालमा तालुधर्से अर्जुनक नामको नयाँ चरा फेला परेको छ । उक्त चरा माथिल्लो मुस्ताङको ३ हजार ६५० मिटर उचाइमा भेटिएको हो ।
६. सिमलतालमा बेपत्ता बस खोज्ने क्रममा त्रिशूली नदीमा हराएको चुम्बक भेटिएको छ । सिँदुरेगैरामा आएको पहिरोमा परेर त्रिशूलीमा हराएका दुईवटा बस खोज्न आएका भारतीय प्राविधिकहरूले प्रयोग गर्दा नदीमा बगेर हराएको १९ किलोको चुम्बक भेटिएको हो ।
७. सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकार पक्ष सहभागी नभएपछि प्रतिपक्षी दलले सांकेतिक विरोध जनाएका छन् । मन्त्रीको अनुपस्थितिमा बैठक चल्न नसक्ने भन्दै सभामुख भीमबहादुर भण्डारीले अनिश्चितकाललाई बैठक स्थगित गरेका हुन् ।
८. नैतिक चरित्रमा व्यापक प्रश्न उठेका निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले संसदीय सुनुवाई समितिबाट अनुमोदन नहुने भएपछि आफैं नाम फिर्ता लिएका छन् । उनले संसदीय सुनुवाइ समितिलाई पत्र पठाइ आफू प्रक्रियाबाट अलग भएको जानकारी गराएका हुन् ।