१. राजदूत सिफारिस समावेशी नभएको भन्दै कांग्रेस सहमहामन्त्री जीवन परियारले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद पारियारले मन्त्रिपरिषद्ले १९ राजदूत सिफारिस गर्दा संविधानको व्यवस्था बमोजिम नभएको भन्दै प्रश्न उठाएका हुन् ।
२. नेपालका सरकारका सचिवहरुलाई मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् ।
३. नेपाली सेनाका वरिष्ठ रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिग्देललाई आगामी साउन २४ देखि लागू हुने गरी कार्यवाहक प्रधानसेनापति बनाउने निर्णय गरेको रक्षा मन्त्रालय स्रोतले बतायो ।
४. नेपालले गत आर्थिक वर्ष ७५ करोड ४१ लाख ९५ हजार रुपैयाँ बराबरको कोदो आयात गरेको छ । भन्सार विभागका अनुसार १ करोड ५२ लाख ९२ हजार ८२० किलो कोदो आयात गरेको हो । नेपालमा कोदोसँगै कोदोको बीउ पनि आयात हुने गरेको छ ।
५. त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१÷८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ । मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् ।
६. नेपाली पौडीवाज एलेक्जेन्डर (एलेक्स) शाहले पेरिस ओलम्पिकमा आफ्नो प्रदर्शनमा सुधार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
७. प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् ।
८. मध्यपुरथिमिमा भाद्र कृष्ण द्वितिया (गुँलागा द्वितिया)देखि पञ्चमीसम्म चार रात नचाइने थिमि भैलः प्याखँ यसवर्ष वडा नं ५ ताहाननीबाट प्रदर्शन गरिने भएको छ । गाईजात्राको भोलिपल्टको रातिदेखि चार रात प्रदर्शन गरिने भैल प्याखँ २१ वर्षपछि ताहाननीबाट प्रदर्शन हुन लागेको हो ।