नीजिस्तरमा सञ्चालन भएको नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पास्यालिटी हस्पीटलले मृर्गौला रोगको उपचार तथा डायलासिस सेवा सुरु गरेको छ ।
मृर्गौला रोगको उपचार तथा डायलासिस गर्न बिरामीहरू अब भारतको लखनउ लगायतका सहरमा जानुपर्ने अवस्थाको अन्त्य भएको मृगौला रोग विशेषज्ञ डा. शौरभसिंह हमालले जानकारी दिए । उनले मल्टीस्पास्यालिटी हस्पीटलको रूपमा यसलाई अघि बढाउन खोजिएको उल्लेख गर्दै गत भदौदेखि सञ्चालनमा आएको डायलासिस सेवामा केही विरामी रहेको बताए ।
रु. १ करोडको लागतमा स्थापना गरिएको डायलासिस सेवामा अहिले पाँच उपकरण राखिएको छ । अस्पतालमा डायलासिसको लागि १२ बेड क्षमता रहेको छ । चिकित्सक हमालले अस्पतालले एउटै स्थानबाट अन्य विभिन्न सेवा पनि बिरामीलाई दिन खोजेको उल्लेख गर्दै सेवामा विविधिकरण ल्याइने बताए । अहिले सरकारी तवरमा भेरी अस्पतालमा मात्रै मृर्गौला रोगको उपचार तथा डायलासिस हुँदै आएको छ । मृगौला रोगको प्रमुख कारण सुगर र उच्च रक्तचाप भएकोमा जोड दिदै चिकित्सक हमालले मृर्गौलामा साना साना नशा हुन्छन त्यसमा “एन्टीबडी” बनेर मृर्गौलालाई ड्यामेज गर्ने खतरा हुने औल्याए । “मृगौला रोगी पनि बढ्दै गएका छन र पछिल्लो समय मृर्गौला जाँच गराउनुपर्छ भन्ने चेतनाको विकास हुन थालेको छ” उनले भने ।
विलासिताको जीवनले सुगर र उच्च रक्तचाप बढेको छ त्यसका कारण मृर्गौला रोगी पनि बढ्दै गएको चिकित्सक हमालको भनाई छ । उनले विरामीका लागि निशुल्क डायलासिस गर्ने योजनालाई पनि मापदण्ड पुरा भएपछि भित्राउने योजना रहेको समेत बताए । ‘अहिले केही बिरामीको इर्मजेन्सी डायलासिस भएको छ,’ चिकित्सक हमालले भने । अस्पतालले मृर्गौलालाई चाहिने “बायएप्सी” को सुविधा पनि बिरामीलाई दिइएको जनाएको छ । अस्पतालमा करिव ५ जना बिरामीको “बायएप्सी” समेत भइसकेको बताइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा रहेको सो अस्पतालमा अन्य विशेषज्ञ सेवा पनि सुरु हुने नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टीस्पास्यालिटी हस्पीटलका कार्यकारी निर्देशक तथा न्यूरो सर्जन जोशन न्यौपानेले जानकारी दिए ।
अस्पतालका सहनिर्देशक तथा सिनियर मेडिकल अफिसर डा. सुनिल प्रधानले १५ बेडबाट सुरु भएको अस्पतालमा बिरामीको चापले यसलाई बढाउदै लैजानुपर्ने आवश्यक्ता भएकाले त्यसका लागि पाँच ब्लक रहेको बताए ।































