लामो समयपछि आज शुक्रवारदेखि नेपालगन्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता आयोजना गरिंदैछ । त्यसका लागि नेपालगञ्ज रंगशालालाई आयोजक आफैले चिटिक्क पारेको छ ।
नेपालगन्ज रंगशालामा आजदेखि लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता आयोजना गरिन लागेको हो ।
बाँके जिल्ला फुटबल संघससंगको समन्वयमा अन्तरालले प्रतियोगिताको आयोजना गरेको हो । तीन विभागीय टीमसहित आठ वटा टीमले प्रतिस्पर्धा गर्ने यो प्रतियोगिताको आज उद्घाटन खेल सुदुरपश्चिम र त्रिभुवन आर्मी बिच हुने आयोजक अन्तरालले जनाएको छ ।
त्यसअघि युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाका प्रचार संयोजक निरज गौतमले जानकारी दिए । उनका अनुसार, खेलमा भारतीय टिम पनि सहभागी छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रूपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएकाले केही महिनादेखि नै रंगशालाको सजावट थालिएको थियो । नियमित पानी राख्दा तथा घाँस पलाएर यतिबेला रंगशालालाई हरियाली बनाइएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बेलामा रोपिएको ४० लाखको बर्मुडा दुबोको नामोनिसान मेटिएपनि दैनिक स्याहार गर्दा स्थानीय दुबो पलाएर रंगशाला सुन्दर देखिएको छ ।
आयोजक अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले आठौँपछि ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गरिएकाले यसलाई बाँके–बर्दियाका फुटबलप्रेमीले उत्साहजनक सहभागिता जनाएर मनोरन्जन लिन, खेलाडीलाई उत्साह दिन आव्हान गरे ।
पत्रकारका लागि रिपोर्टिङ कार्यशाला
नेपालगन्जमा पत्रकारका लागि फुटबल रिपोर्टिङ कार्यशाला आयोजना गरिएको छ । खेलकुद पत्रकार मञ्च बाँकल अन्तराल नेपालगन्जको सहकार्यमा कार्यशाला गरेको हो ।
अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितालाई लक्षित गरी गरिएको कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेल विधामा पहिचान बनाउन सफल प्रशिक्षक पत्रकारहरूले सहजीकरण गरेका थिए ।
एशियाली खेलकुद पत्रकार संघका कोषाध्यक्षसमेत रहेका विविसी संवाददाता निरञ्जन राजवंशीले फुटबल रिपोर्टिङ र लेखनका बिषयमा प्रकाश पारे । नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष अजय फूयालले खेल र न्यु मिडियाका बारेमा जानकारी दिएका थिए । खेल र प्रविधिका बिषयमा नेपाल खेलकुद पत्रकार मञ्चका वरिष्ठ उपाध्यक्ष निरञ्जन अधिकारी र खेल फोटो पत्रकारिता र मोवाइल पत्रकारिताका बिषयमा फोटो जर्नालिष्ट क्लबका पुर्व अध्यक्ष विकास कार्कीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा लुम्बिनी कपको प्रचार प्रसारको बिषयमा मिडिया संयोजक निरज गौतमले जानकारी दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ३० बढि पत्रकारहरूको सहभागिता थियो ।
कार्यक्रममा महिला फुटबल खेलको रिपोर्टिङका बिषयमा विभिन्न सवालहरूमाथि पनि चर्चा गरिएको थियो ।