आगामी आ.व.का लागि बजेटको चरण सुरु भैसकेको छ । आगामी आ.व.का लागि स्थानीय तहले बजेट बनाउनका लागि पुस मसान्तबाट नै प्रक्रिया सुरु हुन्छ । स्थानीय तहको बजेट बनाउने ७ वटा चरण रहने गरेको छ । त्यस अन्तर्गत बैशाख मसान्तसम्म बस्ती तहका योजना छनोट गरिसक्नु पर्ने हुन्छ ।
आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि बजेटको पूर्व तयारी भैरहेको छ । त्यसका लागि स्थानीय तहले
संघ र प्रदेश सरकारबाट पाउने अनुदानको रकमको टुंगो लगाएर सिफारिस गरिसकेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेश सरकारबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण गरेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) बमोजिम कार्यसम्पादनमा आधारित अनुदान, दफा १६ को उपदफा (१) मा तोकिएका आधारहरू बमोजिम सूत्रमा आधारित अनुदान र सोही दफाको उपदफा (३) बमोजिम न्यूनतम अनुदान छुट्टाछुट्टै गणना गरी कुल वित्तीय समानीकरण अनुदान सिफारिस गरिएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार, आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशबाट प्रदेश भित्रका स्थानीय सरकारलाई हस्तान्तरण हुने न्यूनतम अनुदान रू. १९ करोड ८५ लाख २५ हजार, सुत्रमा आधारित अनुदान रू. ७१ करोड ३४ लाख ७५ हजार र कार्य सम्पादन मूल्याङ्कनमा आधारित अनुदान रू. ३ करोड ८० लाख गरी कुल वित्तीय समानीकरण अनुदान रू. ९५ करोड हुने गरी सिफारिस गरिएको छ ।
बाँकेमा करिब ९ करोड
आगामी आर्थिक बर्ष २०८२÷०८३ का लागि प्रदेश सरकारबाट बाँकेका आठ स्थानीय तहले वित्तीय समानिकरण तर्फ ८ करोड ७८ लाख ६६ हजार रूपैयाँ अनुदान पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानिकरण तर्फ बाँकेले पाउने तथ्यांक सार्वजनिक गरेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार, आगामी आर्थिक बर्षका लागि प्रदेशबाट वित्तीय समानिकरण तर्फ राप्तीसोनारी गाउँपालिकाले १ करोड १६ लाख, ५६ हजार, कोहलपुर नगरपालिकाले १ करोड ३० लाख ५१ हजार, बैजनाथ गाउँपालिकाले १ करोड ७ लाख ४४ हजार, खजुरा गाउँपालिकाले १ करोड २ लाख ८१ हजार, रूपैयाँ प्राप्त गर्दैछन् ।
त्यस्तै, जानकी गाउँपालिकाले ७९ लाख ३६ हजार, १ करोड ९० लाख ८४ हजार, डुडुवा गाउँपालिकाले ७७ लाख २ हजार र नरैनापुर गाउँपालिकाले ७४ लाख १२ हजार रूपैयाँ वित्तीय समानिकरण तर्फ प्राप्त गर्दैछन् ।