नेपालगन्ज हुँदै भारतीय पर्यटक भित्र्याउन शुरु गरिएको वेष्टर्न ट्राभल मार्ट (डब्लुटिएम) को तेस्रो संस्करण आज शनिवार देखि आयोजना हुँदैछ । मार्टमा सहभागिताका लागि भारतीय टूर अपरेटरहरु नेपालगन्ज आइपुग्दैछन् ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिकासँगको साझेदारीमा नाट्टा बाँकेले ‘नेपालगन्जः गेट वे टु कर्णाली’ भन्ने मूल सन्देशका मार्ट आयोजना गरेको हो ।
मार्ट आयोजनाका क्रममा परम्परागत स्थानीय रैथाने परिकारहरुको प्रर्वद्धनका लागि यसवर्ष त्रिभुवन चोकमा स्ट्रिट फुडलेन पनि सञ्चालन गरिँदैछ । त्यसका लागि त्रिभुवन चोक सिंगारिएको छ । ‘यो नेपालगन्जका लागि विल्कुलै मौलिक र दीर्घकालीन महत्वको कार्यक्रम हुनेछ,’ आयोजक मूल समितिका संयोजक श्रीराम सिग्देलले भने ।
सिग्देलका अनुसार, मार्टमा सहभागिताका लागि भारतका महत्वपूर्ण पर्यटकीय सहरहरुबाट टूर अपरेटर आउने क्रम शुरु भइसकेको छ । ‘केही साथीहरुलाई स्वागत गरिसकेका छौं,’ सिग्देलले भने । उनका अनुसार, बनारस, अयोध्या, लखनउ र गोरखपुरबाट ४० भन्दा बढी टुर अपरेटरहरुको सहभागिता मार्टमा हुनेछ । यस्तै डेढ दर्जन भारतीय पत्रकार, ट्राभल टुर अपरेटर, ब्लगर, सोसल मिडिया, इन्फ्लुयन्सर र देशभरबाट पर्यटन व्यवसायीहरुको सहभागिता रहने जानकारी आयोजकले दिएको छ ।
बी टु बी सेसन, टेक्निकल सेसन, परिचयात्मक भ्रमण, कर्णालीमा र्याफ्टिङ्ग, रैथाने खाना प्रदर्शनी, क्यासिनो भिजिट र होटल भिजिट लगायत कार्यक्रमहरु मुख्य आकर्षणका रुपमा रहेको बताइएको छ ।
नेपाल पर्यटन बोर्ड, नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपालगन्ज उद्योग बाणिज्य संघ, होटल एसोसिएसन, होटल ब्यवसायी संघ बाँके, नेपालगन्जसंगको सहकार्यमा मार्ट हुन लागेको हो ।