पश्चिम नेपालको खेल क्षेत्रमा कुनैबेला एकछत्र प्रस्तुत हुने नेपालगन्ज पछिल्ला दशक कमजोर हुँदै गइरहेको बेला फुटबलमा ‘टिम नेपालगन्ज’ निर्माण पहल थालिएको छ ।
नेपालगन्ज – ११ स्पोटिज् क्लबले एन्फा सी डिभिजन क्वालिफायर प्रतियोगितामा भाग लिन शुरु गरेको ‘टिम नेपालगन्ज’ निर्माणले इतिहास बनाउने अठोट लिएको क्बल अध्यक्ष घनश्याम थापाको दावी छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि खेलाडी टिम छनोट गर्ने र प्रशिक्षण सञ्चालन गर्न अग्रसर नेपालगन्ज–११ का अध्यक्ष थापा भन्छन्, ‘यसका लागि हामीले ठुलो लगानी र डेडिकेशनकासाथ लागिरहेका छौं ।’
त्यसका लागि शनिवार नेपालगन्ज रंगशालामा छनोट खेल आयोजना गरिएको छ । जहाँ बाँके– बर्दियाका सयबढी खेलाडीहरु सहभागी भए । भिआइपी प्याराफिटमा बसेर छनोट खेल हेरिरहेका एन्फाका केन्द्रीय सदस्यसमेत रहेका बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही भन्छन्, ‘यसखालका प्रतियोगिता, प्रशिक्षण आयोजना गरिरहन नेपालगन्ज रंगशाला खेलमैदान उपलब्ध भइरहने हो भने राम्रा खेलाडी तयार हुन्छन् ।’
त्यसो त नेपालगन्ज–११ स्पोटिज् क्लबले एन्फा सी डिभिजन क्वालिफायर प्रतियोगितामा भाग लिन शुरु गरेको अघिल्लो वर्षदेखिनै हो । ‘हामी अघिल्लो वर्ष राम्रो खेल प्रस्तुत गरेर सशक्त दावी प्रस्तुत गरेका थियौं,’ नेपालगन्ज– ११ का मुख्य प्रशिक्षक जनक केसी भन्छन्, यो वर्ष हामी सी डिभिजनमा दर्ज हुन सक्छौं भन्ने दृढतासाथ लागेका छौं ।’
शनिवार दिनभरिको छनोट खेलपछि टिम नेपालगन्जमा उपयुक्त खेलाडी तय गर्न मुख्य प्रशिक्षक केसीसहित रविन श्रेष्ठ, सानु तामाङ र रामजीत थारुसहित प्रशिक्षक समूह लागिरहेको अध्यक्ष थापाले जानकारी दिए । ‘छनोटमा परेका खेलाडीहरुलाई ‘टिम नेपालगन्ज’को रुप दिन नियमित प्रशिक्षण सञ्चालन गरिनेछ,’ अध्यक्ष थापाले दैनिक नेपालगन्जसँग भने ।
टिम नेपालगन्जका लागि सी क्वालिफायर खेलको तयारी गर्न भद्रबहादुर थापालाई टिम म्यानेजर र निर्मल चन्दलाई सहायक टिम म्यानेजर नियुक्त गरेको नेपालगन्ज–११ ले सुर्यमणि अधिकारीलाई वरिष्ठ सल्लाहकार मनोनयन पनि गरेको अध्यक्ष थापाले जानकारी दिए ।