नेपालगन्जमा केन्द्रीय कार्यालय राखेर देशैभरि युवा संगठित गर्न सफल, बास नेपालले आयोजना गरेको पब्लिक स्पिच नेपाल २०८२ को उपाधि दिपक रावतले हासिल गरेका छन् ।
राजधानी काठमाडौंमा शनिवार आयोजित यो आयोजनाले देशभरका युवाको वाककला र बौद्धिक क्षमतालाई उजागरमात्र गरेन उनीहरुलाई सशक्त मञ्च प्रदान पनि गरेको हो । आयोजनामा जाजरकोटका दिपक रावत विजयी बन्दै प्रतियोगिताको प्रथम स्थान हासिल गरे भने काठमाडौंकी मेलिसा कार्की द्वितीय र जाजरकोटकै दिपक परियार तृतीय बनेका छन् ।
प्रतियोगिताको आयोजक बास नेपालले दिएको जानकारी अनुसार, यस पटकको फाइनल राउण्डमा १४ जना प्रतियोगीले सुशासन, समावेशिता, भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन रोकथाम र प्राकृतिक सम्पदा संरक्षणजस्ता विषयमा प्रभावशाली मन्तव्य प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा विभिन्न शीर्षकअन्तर्गत पुरस्कारहरू पनि वितरण गरियो। पब्लिक च्वाइस अवार्ड दोलखाकी उमा कार्कीले जितिन् भने डोटीकी तोरिशा भण्डारीले सान्त्वना पुरस्कार, पर्साकी प्रार्थना अधिकारीले प्रोत्साहन पुरस्कार प्राप्त गरे ।
विजेताहरुलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरियो। उमा कार्कीलाई २० हजार, तोरिशा भण्डारीलाई ५ हजार र प्रार्थना अधिकारीलाई पनि ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।
पुरस्कार वितरणमा निर्णायक समिति संयोजक तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, प्रेरक वक्ता डा.. तारा बहादुर गिरी (तारा जी), वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेतलगायत प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए ।
युवाको वक्तृत्व क्षमता अभिवृद्धि गर्ने र सार्वजनिक भाषणकलामा नयाँ पुस्तालाई प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको यो अभियान तीन चरणमा सम्पन्न गरिएको थियो— अडिसन, सेमिफाइनल र फाइनल । बास नेपालका सूचना अधिकारी हेमराज भट्ट भन्छन्, अडिसन राउण्डमा देशभरबाट १३७ जना सहभागी भएका थिए, जसबाट छनोट हुँदै अन्तिम चरणसम्म पुग्दा १४ जनाले फाइनलमा आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय अपाँग महासंघ नेपालका पूर्व अध्यक्षदेखि लिएर सफाइ अभियन्ता, गैरसरकारी संस्था महासंघका प्रतिनिधि, युवा परिषदका सदस्यहरूसम्मको उल्लेख्य उपस्थिति थियो ।
आयोजनाको अध्यक्षता बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष मन भण्डारीले गरे भने स्वागत कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । कार्यक्रम सञ्चालन बास नेपाल काठमाडौं शाखा अध्यक्ष शकुन्तला शाहले गरेकी थिइन् । यसरी, पब्लिक स्पिच नेपाल २०८२ केवल प्रतिस्पर्धा मात्र नभई युवाको आवाजलाई राष्ट्रिय स्तरमा सुन्ने एक साझा मञ्च बनेको हो ।