भौतिक क्षतिको प्राविधिक जाँच गर्दै इन्जिनियर टोली
गत भाद्र २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेका बाँकेका सरकारी तथा सामुदायिक भवनहरूको स्थलगत प्राविधिक अवस्था अध्ययन गरिएको छ ।
नेपाल इन्जिनियरिङ एशोसियसन, सहरी तथा भवन डिभिजन कार्यालय बाँके र प्रदेश सहरी विकास तथा भवन कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार र शनिवार जिल्लाका सबैजसो क्षति भएका कार्यालयहरुको प्राविधिक अवस्था अध्ययन गरेको हो ।
‘बढी क्षतिग्रस्त करिब सबैजसो कार्यालय भवनको प्राविधिक अवस्था अध्ययन गरिसकेका छौं,’ नेपालगन्ज उप–महानगरपालिकाका इन्जिनियर सुरज शर्माले दैनिक नेपालगन्जसँग भने, ‘यसका आधारमा कार्यालय भवन मर्मतसम्हार र पुनःनिर्माणका आवश्यक प्रक्रिया थालिनेछन् ।’
भवन डिभिजन विभागबाट तयार गरिएको गाइडलाइनको आधारमा टोलीले बाँके जिल्लाभित्रका सम्पूर्ण भौतिक संरचनाको अवस्था चेकजाँच गरी ग्रेडिङ गर्ने काम पुरा भएकोे जनाएको छ । अध्ययनअनुसार, क्षति पुगेका भवनहरूको प्राविधिक मूल्याङ्कन र भविष्यमा मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक सिफारिससमेत गर्ने तयारी भइरहेको छ ।
इन्जिनियर शर्माका अनुसार, अध्ययनका क्रममा जिल्ला मालपोत कार्यालय बाँके, आन्तरिक राजस्व कार्यालय र राजस्व अनुसन्धान कार्यालय कोहलपुरको भवनमा रातो स्टीकर लागेको छ । ‘यी कार्यालयहरुमा कागजपत्र बढी भएकाले होला, निकै ठुलो क्षति भएको पाइयो,’ अध्ययन कार्यदलका सदस्य शर्माले भने, ‘यी कार्यालयका विभिन्न भागलाई रेक्ट्रोफिटिङ गरेर खतरा मुक्त बनाएपछिमात्रै सञ्चालनमा ल्याउन सकिने हुनसक्छन् ।’
जिल्ला प्रशासन कार्यालय बाँकेको भवनमा पहेँलो स्टीकर लागेको छ । ‘कतिपय कोठामा निकै क्षति पुगेकाले बनाएरमात्रै कार्यालय सञ्चालनमा ल्याउनुपर्ने हुन्छ,’ अध्ययन कार्यदलमा सहभागी इन्जिनियर प्रदीप पराजुलीले दैनिक नेपालगन्जसँग भने, ‘सिडिओ कार्यालयमा पहेँलो स्टीकर लगाइएको छ ।’
जिल्ला अदालत, उच्च अदालत, कृषि ज्ञान केन्द्र, मालपोत, नापी, सरकारी वकिलका कार्यालय, भन्सार कार्यालय लगायतका सबैजसो क्षतिग्रस्त कार्यालयको प्रारम्भिक प्राविधिक क्षति जाँच गरिसकिएको अध्ययन कार्यदलले जनाएको छ । ‘भन्सार, कृषि ज्ञान केन्द्र, सरकारी वकिलको कार्यालयको अवस्थाले ग्रीन स्टीकर लागेको छ,’ इन्जिनियर शर्माले भने ।
संयुक्त टोलीले तोकिएको मापदण्डअनुसार प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गर्ने जनाएको छ । ‘हाम्रो टोलीले आवश्यक अध्ययन सकेकाले त्यसको अध्ययन प्रतिवेदन सम्बद्ध निकायलाई बुझाइनेछ,’ टोलीका सदस्य इन्जिनियर प्रदीप पराजुलीले दैनिक नेपालगन्जसँग भने । उनका अनुसार, नेपाल इन्जिनियरिङ एशोसियसन लुम्बिनी प्रदेशका प्रतिनिधि रुपेश परियार, नेपालगन्ज उपमहानगरपालिकाबाट निमेष शर्मा, सुरज शर्मा, सहरी विकासबाट कृष्ण आचार्यसहितको टोली यो अध्ययनमा सक्रिय रह्यो ।
अध्ययनका लागि इन्जिनियर प्रदीप पराजुली, सुरेन्द्र बोहरा, मोहन ओली, हेमन्त बुढाथोकी, यज्ञ खत्री लगायतका प्राविधिकहरु प्राइभेट कन्सल्टेन्टका रुपमा नेपाल इन्जिनियरिङ एशोसियसनले जिम्मेवारी दिएको बताइएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको घुसपैठमा अराजक समूले बाँकेका दुई दर्जनबढी कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गरेका कारण निकै ठ्ुलो क्षति पुगेको छ ।
आगजनी र लुटपाटका क्रममा नेपालगन्ज उपमहानगरपालिकामा निकै ठुलो क्षति पुगेको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जको अवस्था उस्तै छ ।
न्यायिक केन्द्र बाँके जिल्ला अदालत र उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासको कार्यालय भवनमात्रै ध्वस्त भएन, त्यहाँ रहेका न्यायका अपीलहरु खरानी भएका छन् । न्यायका विरोधी अपराधीहरुले आफुविरुद्धका फाइल खोजीखोजी जलाएको प्रत्यक्षदर्शी बताउँछन् ।
दशौं हजार नागरिकका सम्पत्तिको दस्तावेज रहेको भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज, नापी कार्यालय नेपालगन्जका कागजपत्र ध्वस्त पारिएका छन् । ‘कतिपयले कागजपत्र जलाउने नियत राखेका देखिन्थे भने अधिकाँश चाहिं सामान लुटपाटमा व्यस्त देखिन्थे,’ प्रत्यक्षदर्शीले दैनिक नेपालगन्जसँग भने ।
यातायात व्यवस्था कार्यालय नेपालगन्जलाई पनि आगजनी गरेर ठुलो नोक्सानी पारिएको छ । नेपालगन्ज भन्सार कार्यालय लुटेर सकिएपछि आगजनी गरिएको थियो भने, इलाका प्रहरी कार्यालय जयसपुर, ट्राफिक कार्यालय नेपालगन्जलाई हमला गरेपछि प्रहरीबिहीन भएको थियो । त्यसपछि आजगनी गरिएको थियो ।
जिल्लाबासीको नागरिक अधिकार, सुरक्षा र परिचयको केन्द्र जिल्ला प्रशासन कार्यालय बाँकेमा धावा बोलेको अपराधिक समूहले आन्दोलनकारी युवा जेनजीका आडमा आगजनी गरे, किसानका लागि सहयोग सहजीकरण गर्न खुलेको कृषि ज्ञान केन्द्रसमेत ध्वस्त पारियो ।
जिल्ला हुलाक कार्यालय, जमुनाहा हेल्थ डेस्क,नरैनापुर गाउँपालिकाको कार्यालय
नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय, नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा पनि क्षति पुग्नेगरि आजननी र आक्रमण गरिएको सरकारी तथ्यांकमा उल्लेख छ ।
नेपालगन्जमा रहेका नेपाली कांग्रेस बाँकेको कार्यालय, नेकपा एमाले बाँकेको कार्यालयमा पनि आगजनी गरिएको थियो ।
कोहलपुर क्षेत्रमा आगजनी भएका संरचनाको सूची पनि सानो छैन । कोहलपुर नगर कार्यपालिकाको कार्यालय, राजस्व अनुसन्धान कार्यालय कोहलपुर, कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यको निजी घर, कोहलपुर वडा नम्बर ८, ९, ११ र १२ को कार्यालय, इलाका प्रशासन कार्यालय कोहलपुरमा आगजनी गरिएको छ । त्यसक्रममा उप–प्रमुखदेखि वडाध्यक्षका घरमा पनि क्षति पुगेको बताइएको छ । ठुला राजनीतिक पार्टीका कार्यालयमा पनि धावा बोलिएको छ ।
कोहलपुर नगर विकास समितिको कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर, कोहलपुर नगरपालिका रोजगार शाखा, नगरस्तरीय युवा सञ्जाल, मालपोत कार्यालय कोहलपुर, नापी कार्यालय कोहलपुर, यातायात व्यवस्था कार्यालय कोहलपुर डेस्क, नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रकोहलपुरमा पनि गत्तिकै क्षति पुग्ने गरि आक्रमण गरिएको थियो ।
नेपालगन्जस्थित, पुष्पलाल चोक, गणेशमान चोक, बीपी चोक र सेतु विक चोक पूर्णतया क्षति पुग्ने गरि त्यसैदिन आक्रमण गरिएका छन् ।
