सत्य युग, त्रेता युग, द्वापर युग, कलियुगको समाप्तीपछि घोप्टेयुग र भाईरलयुगको शुरुवात भएको छ । अहिले घरघरमा ईन्टरनेट पुग्नाले सरसल्लाहको कुरा त टाडैको भयो, बोलचाल समेत बन्द भएको छ । शहर, गाउँमा सवैतिर भाईरल आतंक छ । धेरै दःुखद घटना समेत घटेका छन । हामी आफुले पोष्ट गरेको भिडियो वा फोटोमा लाईक, कमेन्ट, भियुज बढाउन जुनसुकै हर्कत गर्न तयार छौं । अनावश्यक सस्तो लोकप्रियता, प्रचारबाजी र राजनीतिक स्टन्टको लागि होडबाजी चलेको छ ।
अभिभावकले राम्रो मोवाईल नकिनिदिएकोले कैयौं वालवालिकाहरुले आत्महत्या गरेका छन । भाईरल हुने निहुँमा कतिको ज्यान गएको छ । घरमा दिनहुँ यही कारणले झकडा भईरहेको छ । यतिसम्म कि फलफूल, तरकारी, गाईभैंसी बेचेर महँगो मोवाईल खरिदगरी टिकटकमा ब्यर्थको समय बिताउनेको संख्या ह्वातै बढेको छ । हुँदाहुँदा सरकार परिवर्तन समेत भाईरल युगले भूमिका खेल्यो । पछिल्लो जेन–जीको आन्दोलनले भाईरल युगलाई झन मलजल गरेको छ ।
हिजोआज हामी सोसल मिडिया चाहे टिकटक होस्, चाहे फेसवुस होस्, चाहे युट्युव होस वा अरु सामाजिक सञ्जालमा ब्याग्र भाईरल हुने चाहानामा धेरै ब्यस्त छौं । हामी बच्चालाई दोष लागउँछौं तर युवावय पारि गरिसकेका पौढवयमा पुगेकाहरुको पनि सञ्जाल मोह थामिनसक्नु हुंदै गएको छ । अहिले असल कर्म गर्नेलाई कसैले महत्व दिदैनन, जो भाईरल छन् तिनीहरु नै चम्किरहेका छन् ।
विपतीमा उद्दार र मद्दतको हात होइन, मोवाईलको क्यामरा तेस्र्याउछौं र भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्छौं । आज हामीलाई करुणाहिन कार्यले आनन्द मिलिरहेको छ ।
कतिपय वीभत्स दृष्य जसले सामाजिक रुपमा विखण्डन ल्याउँछ त्यस्ता दृष्य आफ्नो मोवाईलमा कैद गर्न ब्यस्त हामी मानव विकासक्रमको कति उल्टो वाटो पछ्याईरहेका छौं । सहयोगको लागि मानिस रोईरहेका हुन्छन तर हामी सहयोग दिनुपर्ने हातहरुले उल्टो याचना गर्ने मानिसको आँसुप्रति ब्यंग्य गर्दै भिडियो खिच्न ब्यस्त हुन्छौं ।
आफुले गर्ने हरेक कार्य आफुलाई ठिक गरेको अनुभूति हुुनु स्वभाविक हो, त्यसैले हाम्रो वोली, हाम्रो व्यवहार अरुलाई मन परेको छ कि छैन त्यो कुराको विचार गर्न हामीलाई फुर्सदै छैन । तर यो अनिश्चिताको मानव जीवनमा कुनैपनि घटना सूचना दिएर आउँदैन भन्ने हेक्का राख्नपनि जरुरी छ । हरेक पल दुःख र विपतीका लागि हामी तयारी रहनुको विकल्प छैन । जिन्दगी भनेको नियमित आकस्मिक हो । कुनैपनि वेला भुंईचालो आउन सक्छ, बाढीले सारा बस्ती बगाउन सक्छ । अनेकौं प्राकृतिक विपती आउन सक्छन् । हिंड्दै गरेको मानिस हृदयघातका कारण ढल्न सक्छ, घरमा आगो लाग्न सक्छ, कुनै अग्लो स्थानबाट मानिस लड्न सक्छ, कुनैपनि बेला मानिसले नचाहेको दुर्घटना वा भवितब्य हुन सक्छ । नियमित र आकस्मिकतालाई कसैले टार्न सक्दैन ।
यस्ता परिघटनामा सहयोगको अपेक्षा गरिएको हुन्छ र हामीले बनाउने भिडियोले घाउलाई निको पार्दैन झन चहराउने बनाउँछ र अझ दुःखलाई स्मरण गराउने गर्दछ । आदिम प्रवृतिलाई हामीले अन्त्य गरिसकेका थियौैैं तर अहिलेको सामाजिक सञ्जालले फेरी शिकारी युगमा मनुष्य पशुको मासु खोसाखोस गर्दै खान्थे त्यसैको विम्वको रुपमा देखा परेको छ ।
हामीले गर्ने दया, मायाँ, रहयोग सान्त्वना र सद्भाव देखाउने शब्दमा सिमित भए । आदिम युगमा मनुष्यले मनुष्यलाई धारीलो हतियार हिर्काएर मार्थे अनि त्यो दारुण दृष्य हेर्न उपस्थित रहेका आदिम मानवहरु त्यो दृष्य देखेर, हेरेर आनन्द लिन्थे । मनुष्यको त्यो आदिम प्रवृत्तिको अवशेष अहिले फेरी फर्केको अनुभूती हुंदैछ । हामी कोही मान्छे भिरबाट खस्यो भने कारुणिक दृष्य खिच्न हतारमा छौं, उद्दारमा होईन, सेल्फी र आफु भाईरल हुन ब्यस्त छौं । त्यही उद्दार र सहयोगको अपेक्षाले रोईरहेको मानिसको आँसु आफ्नो कमाईको स्रोत बनाउन चाहन्छौं । हुनत मनुष्य जातिमा प्रेम र दयाको भावना धेरैपछि विकसित भएको पाईन्छ, तरफेरी आधुनिकता र भौतिकताले स्वार्थन्धतामा परिणत हुँदै गएको पाउन सक्छौं । पछिल्लो अवस्थालाई हेर्ने हो भने हामी यति रमिते बन्न थालिसकेका छौं कि सत्यतथ्य कुरो बुझ्ने क्षमतामा नै हस बनाई सकेका छौं । विहान आँखा खोलेदेखि वेलुका आँखा नचिम्लिनेसम्म भिड, नाराजुलुस, जिन्दावाद र मुर्दावाद, विरोध, गालीगलौज, हत्या, वलत्कारका खबर, भ्रष्टचारका आवाज, हिंसा र मनुष्यका आततायी क्रियाकलाप देख्नुपर्ने र सुन्नुपर्ने वाध्यता छ । हामीले कसरी खराव मनुष्यलाईलाई देवत्वकरण गरिरहेका छौं र कसरी मनुष्यलाई राक्षस बनाईरहेका छौं भन्ने कुरा अहिलेको डिजिटल समयले आफै भनिरहेको छ ।
ईश्या, रिस र डाहाले भरिएको घंैटो वोकेर सकरात्मक परिवर्तको वाहक मान्छे बन्न सक्दैन । तरपनि भाईरल हुने रहरमा सवै कुरो जायज हो भन्दिन बेर लगाउँदैनौं । हो मानिस भनेको चेतनशील प्राणी नै हो । मानिसको आत्मा भित्र हरेक किसिमको तरंग उत्पन्न हुन्छ, र त्यो जव आत्माभित्र सलबलाउन थाल्छ त्यही बहुल किसिमका तरंगहरु नै विचार हुन । यदि तरंग सकरात्मक तर्फ उन्मुख भयो भने परिणाम उपलब्धिमूलक बन्छ भने त्यही बहुल विचारहरु लोभ, लालच, मोह, ईष्र्या, पापमा परिणत हुन गयो भने भाईरल हुने चेष्टा जाग्दछ ।
अन्त्यमा, सामाजिक सञ्जालमा छरपुष्ट हुनेगरी गरिएका गालीगलौच, इनिमेशन गरिएका फोटोहरु, लेखिएका अपशब्दयुक्त आलेखहरु त्यहि कुराको प्रतिक हुन । हामी अनायसै होडवाजी र को भन्दा को कमको खेलमा विभिक्त भएका छांै । सन्ततिलाई सुम्पेर जाने कृति यिनै हुन त ?
अहिलेको नक्कली र वनावटी अवस्थाले चिन्तन गर्न सकिरहेको छैन । वाहिरी रुपमा मिलेका छौं भन्नु र आत्मीय रुपमा साच्चिकै मन मिल्नुमा धेरै फरक छ । अहिले सवै वस्तु नक्कली भए जस्तै आत्मीयताहरुपनि नक्कली छन् । वास्तवविकता मानिस सामाजिक बन्न भन्दापनि सामाजसेवी देखाउनका लागि मानव भिडमा उपस्थित हुन्छ । वा “भाईरलयुग” तिमिलाई सलाम छ !!