पर्वका बेला भारतबाट नेपाल पर्व मनाउन आउने नेपालीहरूलाई भारत तर्फ नै प्रभावित पार्ने, हैरानी गर्ने र सीमित होटलमा पुर्याएर ठगी गर्ने उद्देश्य सञ्चार माध्यममा आएपछि होटल व्यवसायी संघ बाँकेले त्यसतर्फ चासो देखाएको छ ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले भारतबाट नेपाल आउनेहरूलाई सहजै सुरक्षित रूपमा सीमा नाकासम्म पुग्नका लागि भारतीय प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई अनुरोध गरेको जानकारी दिएका छन् । ‘पर्वका बेला भारतबाट आउने यात्रुलाई सीमामा हैरानी दिने, ठगीको उद्देश्यले त्यहीबाट सीमित होटलमा पुर्याउने गरेको समाचार प्रकाशनमा आएपछि संघले भारत तर्फको रूपैडिया नाकाका प्रहरी तथा सीमा सुरक्षा बलसँग छलफल गरेका हौं,’ अध्यक्ष कंडेलले भने ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेल, उपाध्यक्ष विष्णु प्रसाद पोखरेल, कोषाध्यक्ष एकराज पाण्डे सहितको टोलीले भारतीय सीमामा रहेका सुरक्षा अधिकारीहरूलाई भेटेर पर्वका बेलामा भित्रिने नेपालीलाई सहज रूपमा नेपाल पठाउने व्यवस्था गर्न आग्रह गरेका थिए । संघको टोलीले एसएसबीमा निरीक्षक ऋतुराज तथा रूपैडिहा प्रहरीका प्रभारी निरीक्षक रमेश सिंह रावतसँग भेटघाट गरेका हुन् ।
त्यसक्रममा भारतीय सुरक्षा अधिकारीहरूले पर्व मनाउन नेपाल भित्रिने नेपालीहरूलाई सुरक्षित रूपमा नेपालको नाकासम्म पुर्याउन प्रतिबद्धता जनाएको अध्यक्ष कंडेलले जानकारी दिएका छन् । ‘विगतमा पनि पर्व मनाउन आउने नेपालीलाई होटलका नाममा ठगी भैरहेको विषय सुनेका थियौं, हाम्रो नेतृत्व आएपछि भारतीय सुरक्षा अधिकारीलाई सुरक्षाको ध्यानाकर्षण गराएका हौं’, उनले भने ।
भारतीय पत्रकार शेर सिंह कसौंधनले नेपाली यात्रुले नेपालीबाट रूपैडिहामा दुःख पाएपछि भारतीय मिडियाले समाचार प्रकाशन गरेको बताएका छन् । ‘दुई देशबीच अनाहक रूपमा कसैले दुःख पाउनु हुँदैन’, भारतीय पत्रकार कसौंधनले भने ।
भारतीय पत्रकारहरूले समेत नेपालीहरू पर्व मनाउँदा पाउने दुःख, लुटपाट र जोखिमबारे समाचार लेख्दै आएका छन् ।
भारतबाट नेपाल नाका छिरिसकेपछि पनि लुटपाट हुने, अभद्र व्यवहार हुने र अनावश्यक रूपमा भारतबाट पर्व मनाउन आएकासँग असुली हुने गरेको घटना सार्वजनिक हुँदै आएको छ ।