जिल्ला प्रशासन कार्यालय बाँकेले पर्वका बेला हुने अवाञ्छित गतिविधि विरुद्ध जिल्ला प्रशासन कार्यालय बाँके वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत विष्णु सहनीले पर्वका बेला विभिन्न खालका घटनाका जोखिम रहेको भन्दै त्यस्ता गतिविधि विरुद्ध सूचना दिन सार्वजनिक गरेका छन् ।
प्रशासनले जारी गरेको सूचनामा दशै, तिहार तथा छठ जस्ता ठूला चाडपर्वको समयमा बजारमा खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र बिक्री वितरणमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि हुनसक्ने औंल्याइएको छ ।
‘चिठ्ठा, जुवातास र अनलाइन सपिङ्गका नाममा हुने अवैध कारोबार, विद्युतीय माध्यमबाट हुने ठगी, भाडाका सवारी साधनले यात्रुसँग बढी पैसा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राखे, छिमेकी मुलुक भारतबाट रोजगारी गरी स्वदेश फर्कने क्रममा सीमा क्षेत्रमा चोरी, ठगी र लुटपाटका घटना हुन सक्ने जोखिम रहेको’, प्रशासनले बताएको छ ।
प्रशासनले त्यस्तै घटनामा सम्बन्धित सबैलाई सजग र सचेत रहन आग्रह गदै सूचनामा भनेको छ, ‘अवाञ्छित गतिविधि हुन लागेको जानकारी, सूचना भएमा यस कार्यालय वा नजिकको प्रहरी कार्यालय वा तपसिल बमोजिमका सम्पर्क नम्बरमा जानकारी गराउनुहुन अनुरोध छ ।’
‘यस किसिमका अवाञ्छित गतिविधि गर्ने÷गराउने जो कसैलाई पनि कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, प्रशासनले भनेको छ । प्रशासनले सम्पर्कका लागि इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेको ९८५१२८२९९९, जिल्ला प्रहरी कार्यालय, नेपालगन्ज, बाँके ९८५१२८२६०२, जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज बाँके ९८५८०२०१८८को नम्बर जारी गरेको छ ।