तिहार नजिकिँदै गर्दा बाँकेमा जुवातासका गतिविधि तीव्र बन्दै गएपछि प्रहरीले नियन्त्रण अभियानलाई थप सशक्त बनाएको छ। यही क्रममा गएराती नेपालगञ्जमा १४ जना जुवाडेलाई रंगेहात पक्राउ गरिएको छ।
बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जुवातास नियन्त्रणका लागि कडाइका साथ निगरानी र कारबाही गर्न निर्देशन दिएपछि मातहतका टोली सक्रिय बनेका हुन्।
नेपालगञ्ज उपमहानगरपालिका–२ बाइपास रोडस्थित बिज्ञान श्रेष्ठले सञ्चालन गरेको मौरी रेष्टुरेन्टमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मार्दा १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र तासका गड्डीसहित १४ जना व्यक्तिलाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक यामबहादुर बुढामगरको कमाण्डमा १५ जनाको टोलीले रेष्टुरेन्टको दोस्रो तल्लामा रहेको हल कोठामा रातो र सेतो पर्दा बिछ्याएर तयार गरिएको खालमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
बाँके प्रहरीका प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार प्रहरीले खेल्दै गरेको २ गड्डी तास र नखोलेको ८ गड्डी तास समेत बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज–२ का बिज्ञान श्रेष्ठ (२८), मुक्तीपुरका गणेश बस्नेत (३६), जयसपुरका सेराज अन्सारी (४६), त्रिभुवनचोकका ऋषि गुप्ता (२४), बसपार्कका तरूण गौतम (५२), बिनोद खड्का (३७), मोहम्मद सफिक बेहना (४८), कारकाँदोका संगम शाह (४७), मधुसुधन दाहाल (५०), मेघराज गौतम (४५), धम्बोजीका रमेश शाही (४५), कोहलपुर–११ का भागिरथ यादव (३८), झण्डहवाका नन्दलाल यादव (४२) र लक्ष्मणपुरका सुमन केसी (४०) रहेका छन्।
प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढाइरहेको र जुवातासका गतिविधिमा संलग्न अन्य व्यक्तिहरूमाथि पनि निगरानी बढाइएको जनाएको छ।