पर्वका बेला लुम्बिनीमा विपद्का घटनामा ठूलो जनधनको क्षति भएको छ । प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र लुम्बिनीका अनुसार गत असोज २ गतेदेखि असोज २४ गतेसम्म लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका विपद्का २ सय ६५ वटा घटनामा २६ पुरुष र १३ महिलाको मृत्यु भएको हो । विपद्मा १ जना बेपत्ता भएका थिए ।
लुम्बिनीमा भएका विपद्का घटनामा १ सय १४ जना घाइते भएका थिए । त्यस्तै, विपद्का घटनामा १ करोड ९४ लाख ५१ हजार रूपैयाँ क्षति भएको छ । अधिक बर्षाबाट ६४ लाख ६० हजार, १ करोड १७ लाख ९१ हजार र चट्याङबाट १२ लाख रूपैयाँ बराबरको सम्पत्ति क्षति भएको हो ।
विपद्का घटनामा पूर्ण रूपमा व्यक्तिगत २५ वटा घर, आंशिक क्षति पुगेका ५ सय ९४ वटा रहेको प्रदेश आपतकालीन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
गत असोज २ देखि २४ गतेसम्म भएका विपद्का घटनामा ४६ वटा सरकारी भवन र ४२ वटा पशु र ७ वटा गोठमा क्षति पुगेका थिए ।
प्रदेश आपतकालीन सञ्चालन केन्द्रका अनुसार, चालु आर्थिक बर्षको साउनदेखि हालसम्म विपद्का ७ सय ७२ वटा घटना घटिसकेका छन् । जसमा ७५ पुरुष र ४१ महिला गरी १ सय ११ जनाको ज्यान अकालमा गैसकेको छ भने ३ सय ५६ जना घाइते भएका
छन् ।
लुम्बिनी प्रदेशमा चालु आर्थिक बर्षको साउनदेखि हालसम्म २ करोड ७४ लाख ९८ हजार बराबरको धनमालमा क्षति पुगेको छ ।
बाँकेमा गत साउनदेखि हालसम्म भएका विपद्का ६४ घटनामा ६ पुरुष र ५ महिला गरी ११ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । हालसम्म बाँकेमा ३ लाख ५० हजार बराबरको धनमाल, ८÷८ वटा व्यक्तिगत तथा सरकारी घरमा आंशिक क्षति पुगेको तथ्यांक छ ।