नेपालगन्ज नेशनल स्वीमिङ्ग च्याम्पियनशीपको दोस्रो संस्करण नेपालगन्ज रंगशाला स्थित पौडी पोखरीमा आयोजना हुने भएपछि त्यसको सफाई थालिएको छ । ‘झण्डै दुई महिनादेखि बन्द अवस्थामा रहेको स्वीमिङ्ग पुल सरसफाई हाम्रो लागि ठूलै चुनौति बनेको छ’, च्याम्पियनशीप आयोजक नेपालगन्ज स्वीमिङ्ग क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले भने ।
क्लब अध्यक्ष केशव न्यौपानेको नेतृत्वमा आइतबार पौडी पोखरी परिसर पुगेको क्लबको टोलीले खेलकुद प्रमुख महेश चन्दसँग भेटघाट गरी पौडी पोखरीको जायजा लिएको थियो । ‘कम्तिमा ५÷७ जना जनशक्ति परिचालन गरेर सरसफाई कार्यलाई तिव्रता दिनुपरेको छ’, वरिष्ठ उपाध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘नियमित अभ्यास र प्रशिक्षणको अभावले पौडी पोखरी जीर्ण देखियो ।’
खेलकुद प्रमुख चन्दले विभिन्न विद्यालयहरूसँग समन्वय गरेर नियमित अभ्यास र प्रशिक्षणको पहलकदमी लिएपनि आकर्षण बन्न नसक्दा सिजन नसकिंदै पौडी पोखरी बन्द गर्नुपरेको बताए । ‘नियमित प्रतियोगिताहरू आयोजना गरिंदै गयो भने आकर्षण पक्कै बढ्छ र पोखरीको यो अवस्था हुँदैन’, चन्दले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि नेपालगन्ज स्वीमिङ्ग च्याम्पियनशीपको सफलता हाम्रो पनि प्राथमिकता हो ।’
आयोजक क्लब अध्यक्ष न्यौपानेले प्रतियोगिता तयारीका क्रममा तमाम कामहरू गरिरहँदा पौडी पोखरी समेतको सरसफाई गर्नु परेकोमा चुनौति थपिएको बताए ।
‘कम्तिमा अरू सहयोग गर्न नसकेपनि प्रतियोगिता स्थल पौडी पोखरीको सरसफाई र व्यवस्थापन सरकारी निकायले नै गरिदिनुपर्ने हो’, अध्यक्ष न्यौपानेले देशभरबाट दुई सय बढी खेलाडी नेपालगन्ज आइरहँदा व्यवस्थित रंगशाला र सफा पौडी पोखरी आयोजकको प्राथमिकता बन्नु परेको सुनाए । आगामी कार्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा पौडी प्रतियोगिताको आयोजना हुँदैछ । त्यसका लागि आयोजक समिति तयारीमा जुटेको छ । ‘यो नेपालगन्जको आन्तरिक पर्यटनका लागि महत्वपूर्ण आयोजना हो’, अध्यक्ष न्यौपाने भन्छन् ।






























