अघिल्लो आर्थिक बर्ष २०८१/०८२ को तुलनामा चालु आर्थिक बर्ष २०८२÷०८३ को तीन महिनामा भन्सार राजश्व असुलीमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार, अघिल्लो आर्थिक बर्षको साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौं महिनामा लक्ष्यको ६६.६२ प्रतिशत र असोजमा ६६.९१ प्रतिशत राजश्व संकलन भएकोमा चालु आर्थिक बर्षको क्रमशः उक्त महिनाहरूमा मासिक लक्ष्यको ७४.१४ प्रतिशत, भाद्रमा ६९.७७ प्रतिशत र ८७.८३ प्रतिशत राजश्व संकलन भएको थियो ।
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुको तीन महिनामा ४ अर्ब ४७ करोड ६३ लाख ९८ हजार भन्सार राजश्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिएका छन् । अघिल्लो आर्थिक बर्ष २०८१÷०८२ को तीन महिनामा चार अर्ब ४० करोड ६९ लाख ९६ हजार राजश्व संकलन भएको थियो । भदौं महिनाका केही जेनजी आन्दोलनका कारण राजश्व संकलन समेत प्रभावित भएको थियो ।
अघिल्लो आर्थिक बर्षको साउनमा १ अर्ब ५० करोड ३८ लाख ३४ हजार राजश्व संकलन भएकोमा चालु आ.व.को साउन महिनामा १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रूपैयाँ, अघिल्लो आ.व.को भाद्रमा १ अर्ब ४९ करोड ५ लाख २० हजार राजश्व संकलन भएकोमा चालु आ. व.को भाद्र महिनामा १ अर्ब ३५ करोड १० लाख ९ हजार राजश्व संकलन भएको छ । त्यस्तै, अघिल्लो आ. व.को असोज महिनामा १ अर्ब ४१ करोड २९ लाख ४२ हजार राजश्व संकलन भएकोमा यस बर्ष ह्वात्तै वृद्धि भई १ अर्ब ७४ करोड १६ लाख ५ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।
करिब चार खर्बको व्यापार घाटा
चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार यो अवधिमा रू चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको
हो ।
यसरी असोज मसान्तसम्ममा कूल रू पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले रू तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ । पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट रू दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र रू ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा रू एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ ।
त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा रू एक खर्ब चार अर्ब ७० करोड छ । चीनबाट रू एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा रू १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ ।
नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट रू चार करोड एक लाखको आयात हुँदा रू २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग रू २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।
पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा रू १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रू २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र रू १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । यो अवधिमा रू १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।































