नेकपा (माओवादी केन्द्र) नेतृत्वले नेपाली वामपन्थी शक्तिलाई एउटै छातामुनि ल्याउने भन्दै ‘पार्टी एकता’को एजेन्डा अघि बढाएको छ । तर, सोही समयमा शीर्ष नेताहरू राम कार्की र जनार्दन शर्माले नयाँ ‘प्रगतिशील अभियान’ घोषणा गरेपछि माओवादी भित्र पुनः विभाजनको संकेत देखिएको छ ।
माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकले नेकपा एकीकृत समाजवादीसहित नौ वामपन्थी दलबीच एकता गर्ने निर्णय गरेको छ ।
बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणपछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चिन्ह ‘पाँचकुने तारा’ रहने जानकारी गराए । आज बुधवार एकता घोषणा कार्यक्रम राखिएको छ ।
नेता नारायणकाजी श्रेष्ठले प्रस्तुत गरेको ‘एकता एजेन्डा’ बैठकले ताली बजाएर पारित गरेको थियो । श्रेष्ठले भने, “यो एकता केही मान्छे थुपार्नका लागि होइन, नयाँ पुस्ता—जेन–जी—लाई समाजवादको यात्रामा सहभागी गराउने ऐतिहासिक अभियान हो ।”
तर, यसबीचm अर्को मोर्चा पनि तयार भयो ‘प्रगतिशील अभियान, नेपाल’ ।
प्रचण्डका पुराना सहकर्मी राम कार्की र जनार्दन शर्माले भने पार्टी नेतृत्वसँग असहमति जनाउँदै नयाँ राजनीतिक समूह ‘प्रगतिशील अभियान, नेपाल’ गठन गरेका छन् ।
उनीहरूले अभियानको नारा राखेका छन् — “विद्रोह जायज छ, विद्रोह अधिकार हो ः समाजवादी ऐक्यबद्धता आजको आवश्यकता ।”
विज्ञप्तिमा प्रचण्ड नेतृत्वमाथि ‘वैचारिक विचलन’, ‘अवसरवाद’ र ‘पुँजीवादी प्रवृत्ति’को आरोप लगाइएको छ । शर्माले भनेका छन्, “नेतृत्व अहंकारी र आलोचना सुन्न नसक्ने बनेको छ । यही कारण वैचारिक संवादका सबै ढोका बन्द भएका छन् ।”
पार्टीभित्रको द्वन्द्व ः पुनर्निर्माण कि पुनरावृत्ति ?
माओवादी केन्द्रले एकताको नाममा वाम शक्तिलाई पुनः एक ध्रुवमा ल्याउने कोसिस गरिरहँदा, अर्कोतर्फका नेताहरूले “शुद्ध कम्युनिस्ट पार्टी निर्माण” को नारा उचालेका छन् ।
विश्लेषकहरू भन्छन् — “एकातिर नाम र चिन्हमा एकता, अर्कातिर विचार र व्यवहारमा विभाजन — यही हो हालको माओवादीको वास्तविक अवस्था ।” वर्षौंदेखि बारम्बार ‘एकता’ र ‘फुट’को चक्रमा अड्किएको माओवादी आन्दोलन अहिले पनि त्यही दोबाटोमा पुगेको देखिन्छ ।
एक पक्षले “नयाँ पुस्ता र समाजवादको यात्रा” को कुरा गर्छ भने, अर्को पक्ष “वर्गीय र क्रान्तिकारी पदचाप पुनस्र्थापनाको आवश्यकता” को कुरा गर्छ ।
राजनीतिक रूपमा हेर्दा माओवादी केन्द्रले देखाएको एकताको पहल वाम एकता प्रक्रियाको नयाँ चरणको संकेत हो । तर वैचारिक रूपमा, ‘प्रगतिशील अभियान’को उदयले सो एकतालाई चुनौती दिएको स्पष्ट छ ।
यस अर्थमा, माओवादी अहिले पनि उही पुरानो प्रश्नसँग जुधिरहेको छ —
“पार्टी जुट्दैछ कि फेरि एकपटक फुट्दैछ ?”
बाँकेमा त्यसको असर, शान्त छ । अहिले कोही मुख खोल्न तयार छैनन्, शान्त तर टुटफुट र जुटभित्र आक्रान्त छ, माओवादी एक नेता भन्छन् ।