नेकपा एमालेको महाधिवेशन संघारमा आइपुग्दा केन्द्रीय समितिमा बाँकेका दर्जन बढी आकांक्षी देखिएका छन् ।
वर्तमान केन्द्रीय समितिमा रहेका बाँकेका पाँच जना मध्ये चार जनाले स्वतः दाबेदारी गरिरहेका छन् भने नयाँ आकांक्षीहरूको संख्या झनै धेरै छ । ‘नयाँ पुस्ता राजनीतिमा आउनु पर्छ भनिरहँदा आउटडेटेड आकांक्षीहरूको संख्या पनि उत्तिकै छ’, केन्द्रीय समितिमा दाबेदारी गरिरहेका एक जना प्रतिनिधिले दैनिक नेपालगन्जसँग भने, ‘६० नाघेका प्रतिनिधिहरूको सक्रियतामा केन्द्रीय समितिमा जान झनै दौडधुप छ ।’
एमाले बाँकेमा इन्चार्ज समेत रहेका शान्ति ढकाल, केन्द्रीय सदस्यहरू मो. हारुन, सुर्य ढकाल, दिपा शर्माले केन्द्रीय समितिका लागि लबिङ्ग गरिरहेका छन् ।
पूर्व केन्द्रीय सदस्य देवराज भार, दल बहादुर सुनार पनि केन्द्रीय समितिमा दाबेदारी गरिरहेका छन् । त्यस्तै रत्न खत्री, विजया धिताल, बसन्ती अधिकारी, एकमाया विक पनि केन्द्रीय समितिमा दाबेदारी गर्दै लबिङ्गमा व्यस्त छन् ।
‘प्रतिनिधि मध्ये आधा बढीले आकांक्षा व्यक्त गरेका छन्’, शुक्रबार भएको बाँके भेलामा सहभागी प्रतिनिधिले दैनिक नेपालगन्जसँग भने, ‘सम्भवत कतिपय दोहोरिनु हुन्छ, कतिपय नयाँ आउने देखिन्छ ।’
एमालेले यसपटक युवा कलष्टरबाट प्रतिनिधित्व सुनिश्चित गरेकाले नयाँ केन्द्रीय सदस्यको सम्भावना पनि उत्तिकै रहेको एमाले नेता रविन्द्र लम्सालको भनाइ छ ।
‘प्रतिनिधि भेला गरेका थियौं जहाँ धेरै जनाले आफ्नो दाबी प्रस्तुत गर्नुभएको छ’, आफुपनि केन्द्रीय कमिटि सदस्य दाबेदार रहेको जानकारी दिंदै एमाले बाँकेका उपाध्यक्ष रत्न खत्रीले भने । केन्द्रीय सदस्य मो. हारुनले लोकतान्त्रिक पद्धतिमा दाबेदारी स्वभाविक रहेको प्रतिक्रिया दिंदै सौहार्दपूर्ण ढंगबाट बाँकेको पनि प्रतिनिधित्व सुनिश्चित हुने गरी
केन्द्रीय कमिटि बन्नेमा ढुक्क हुन
आग्रह गरे ।






























