नेपालगन्जमा अटिजम भएका बालबालिका, अभिभावक तथा हेरचाहकर्तालाई लक्षित गरी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुने भएको छ । त्यसका लागि नेपालगन्जमा सामाजिक कार्य गरिरहेका युवाहरुले अग्रसरता लिएका हुन् ।
आयोजक नेपालगन्ज स्विमिङ क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीका अनुसार, आज सोमवारदेखि नेपालगन्जमा सञ्चालन हुने कार्यक्रम अटिजमसम्बन्धी ज्ञान, सीप र व्यवहारिक उपायहरूमा केन्द्रित रहनेछ । मंगलवार पनि चल्ने यो कार्यक्रममा अटिजम बुझ्ने, स्वीकार्ने र अभिभावकलाई सशक्त बनाउने प्रयास हुनेछ ।
‘बाँकेमा अटिजम भएका बालबालिकाको अवस्थामा खासै कसैले ध्यान दिएको देखिएन,’ अधिकारीले सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै भने, ‘अझै उनका अभिभावकको अवस्था त झनै कष्टकर पो छ, त्यसैले पनि यो कार्यक्रम निकै महत्वपूण छ ।’
कार्यक्रममा अटिजम स्पेक्ट्रम डिसअर्डरबारे विस्तृत छलफल, व्यवहार व्यवस्थापनका उपाय, घरमै गर्न सकिने थेरापी (भाषा, संवेदनशीलता, व्यवहार समर्थन तथा दैनिक क्रियाकलाप), दीर्घकालीन चुनौती र व्यवस्थापन रणनीति तथा हेरचाहकर्ताको स्व–हेरचाहजस्ता विषय समेटिनेछन् ।
‘मनोवैज्ञानिक तथा ईसीडी परामर्शदाता, एबीए र सीबीटी थेरापी प्र्याक्टिसनर प्रिसिमा थापा (आसिषा) ले सहजीकरण गर्ने कार्यक्रम निःशुल्क रहेको छ,’ वरिष्ठ उपाध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘बिहान १०ः३० देखि साँझ ४ः०० बजेसम्म चल्ने कार्यक्रममा अभिभावक, शिक्षक तथा हेरचाहकर्ताको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ ।’
कार्यक्रमलाई आकार फाउण्डेशन मोरङ नेपालले सहयोग गरेको छ भने लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र लायन्स क्लब अफ नेपालगन्ज युथ सहकार्यमा छन् । ‘अटिजमप्रति बुझाइ बढाउँदै बालबालिकालाई स्वीकार्ने र सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ,’ आयोजनाको उद्देश्यबारे क्लबका वरिष्ठ उपाध्यक्ष अधिकारीले भने ।






























