बाँकेको फुटबल इतिहासलाई नै उचाई दिने गरी शहिद स्मारक सी डिभिजन लिगमा उपाधी विजेता बन्न सफल नेपालगन्ज–११ स्पोर्टिङ क्लबले विजेता शिल्ड स्थानीय सरकारलाई उपहार दिएको छ ।
उपाधी लिएर गृहनगर नेपालगन्ज आएको टिमले खेलाडी सहित नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर, डुडुवा र खजुरालाई शिल्ड उपहार दिएको हो ।
कोहलपुर स्थित शिखा एकेडेमी विजेता खेलाडी टिमलाई मंगलबार स्वागत सम्मान गरेपछि हर्षोल्लासपूर्वक कोहलपुर पुगेको टिमलाई उपप्रमुख संगीता सुवेदीले स्वागत, सम्मान गरिन् ।
त्यसपछि नेपालगन्ज उपमहानगरपालिका पुगेको टिमलाई नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई र प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले स्वागत सम्मान सहित शिल्ड ग्रहण गरे । ‘स्थानीय सरकारले यो जितको अपनत्व लिउन् भन्ने हाम्रो उद्देश्य हो’, नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाले भने । टिम प्रशिक्षक जनक केसीले जितलाई उपलब्धीका रूपमा लिंदै स्थानीय सरकारले खेलाडी उत्पादनका लागि प्रशिक्षण र प्रतियोगितामा योगदान दिने विश्वास गरिएको बताए ।
