नेपालमा स्पष्ट नीति तथा नियमको अभावका कारण सुनचाँदी व्यवसायीहरू गम्भीर अप्ठ्यारो अवस्थामा पुगेको नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष दियेश रत्न शाक्यले बताएका छन् । नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेको आठौँ तथा नवौँ वार्षिक साधारण सभामा बोल्द ै अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायीहरूको समस्या राज्यले गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष शाक्यले नेपाली सुनचाँदी व्यवसायीको अवस्था अन्तर्राष्ट्रिय मापदण्डभन्दा पनि एशियाली मुलुकहरूसँग तुलना गरेर सुहाउँदो बनाइनुपर्ने धारणा राखे । उनले भने, ‘नेपालमा सुनचाँदी व्यवसायीका लागि एकीकृत नीति र नियम लागू भएको भए व्यवसायीहरू एउटै प्रणालीमा चल्ने थिए । यसले व्यवसायमा स्थायित्व र ढुक्कको वातावरण सिर्जना हुने थियो ।’
अध्यक्ष शाक्यका अनुसार हाल सरकार विलासिताको कर लगायतका विभिन्न कर लगाउने विषयमा एकतर्फी रूपमा अगाडि बढिरहेको छ तर सुनचाँदी व्यवसायीले राज्यलाई दिने राजस्व योगदानप्रति सरकार गम्भीर देखिँदैन । ‘राजस्वमा उल्लेखनीय योगदान हुँदाहुँदै पनि हाम्रो क्षेत्रलाई प्राथमिकतामा राखिएको छैन’, उनले गुनासो गरे ।
कार्यक्रमको अध्यक्षता गरेका नेपालगन्ज सुनचाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाउद्दिन जसगढले केन्द्रीय संघप्रति असन्तुष्टि व्यक्त गर्दै नेपालगन्जलाई जिल्लास्तरीय मान्यता नदिइएको विषय उठान गरे । उनले भने, ‘नेपालगन्ज उपमहानगरपालिका भित्र पर्ने हाम्रो संघमा सदस्य संख्या निरन्तर बढ्दो छ । अन्य जिल्लाको तुलनामा सदस्य संख्या धेरै हुँदाहुँदै पनि जिल्लाको नेतृत्व गर्ने मान्यता नपाउनु दुखद् हो । यस विषयमा केन्द्रीय समितिले गम्भीरतापूर्वक सोच्नुपर्छ ।’
यसैगरी संघका उपाध्यक्ष अरविन्द कुमार सोनीले बढ्दो सुनचाँदीको मूल्य, नेपालगन्ज सीमावर्ती क्षेत्र हुनु तथा विलासिता कर जस्ता कारणले व्यवसाय झनै जटिल बन्दै गएको बताए । “सरकारले न त स्पष्ट ऐन दिएको छ, न नियम। हामी कसरी, के आधारमा व्यवसाय गरिरहेका छौँ भन्ने विषयमा सरकार अनभिज्ञ जस्तो देखिन्छ,” उनले भने, “यस्तो अवस्थामा व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भएको छ ।”
नेपालगन्ज सुनचाँदी व्यवसायी संघका सह–कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य मोहम्मद हासिम अन्सारीले सुनचाँदी व्यवसायमा बिक्री नै सबैभन्दा ठूलो समस्या बनेको बताए । उनले भने, ‘बिल बिना कारोबार गर्न नपाइने व्यवस्था र पाँच लाख रूपैयाँसम्मको नगद कारोबारमा प्रतिबन्धले समस्या झन बढाएको छ ।’ उनले प्रदेशस्तरीय सातबुँदे घोषणा पत्र आएको उल्लेख गर्दै त्यसले केही निकास दिन सक्ने आशा व्यक्त गरे ।
नेपाल सुनचाँदी व्यवसायी संघका महासचिव सुकनारायण सुनारले सुनचाँदी व्यवसाय नेपालमा परम्परागत रूपमा चल्दै आएको स्मरण गराउँदै नेपालगन्जलाई सुनचाँदी व्यवसायको ‘हब’का रूपमा विकास गर्न सकिने सम्भावना औँल्याए। तर उनले सडक विस्तार र बजार व्यवस्थापनका कारण कतिपय व्यवसायीहरू पसल बन्द गर्न बाध्य भएको बताए । ‘एकातर्फ नयाँ–नयाँ स्थानमा पसल खुलिरहेका छन्, अर्कोतर्फ पुराना व्यवसायी विस्थापित भइरहेका छन्’, उनले भने, ‘यति समस्या हुँदाहुँदै पनि हामीसँग अन्य विकल्प नभएकाले यही पेशामा जबर्जस्ती अघि बढिरहेका छौँ ।’
वार्षिक साधारण सभाको उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरीएको थियो । सम्मानित हुनेमा वरिष्ठ पत्रकार झलक गैरे, बालाजी कन्स्ट्रक्सनका पवन कुमार राढ, संघका पूर्व अध्यक्ष श्याम कुमार टण्डन, साँवली प्रसाद रोरवाल, इन्द्रमान शाक्य र कुवेर रहेका थिए । कार्यक्रममा बर्दिय, दाङ, बुटवल, धनगढी एवं कृतिपुर लगायतका सुनचाँदी व्यवसायीसँघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।
साधारण सभामा सहभागी अधिकांश वक्ताहरूले सुनचाँदी व्यवसायीका साझा समस्याहरू उठान गर्दै सरकारबाट स्पष्ट नीति, ऐन तथा नियमको माग गरेका थिए । उनीहरूको भनाइमा, नीतिगत स्पष्टता बिना सुनचाँदी व्यवसाय सुरक्षित, व्यवस्थित र दिगो हुन नसक्ने अवस्था देखिएको छ ।






























