झलक गैरे
भारतसँग सीमा जोडिएको नेपालगन्जलाई केन्द्र बनाएर पर्यटन पूर्वाधारमा ठूलो लगानी आउने भएको छ । आनन्दी ग्रुप अफ कम्पनीजले नेपालगन्जमा ‘आनन्दी रिगालिया’ नामक होटल तथा बैंक्वेट प्रोजेक्ट सुरु गरेको हो । आनन्दी ग्रुपको लक्जरी, प्रिमियम स्तरको होटल तथा हस्पिटालिटी प्रोजेक्ट हो, जसले राजसी अनुभव, उच्च सेवा र आधुनिक सुविधा दिने उद्देश्य राखेको जनाएको छ ।
आनन्दी ग्रुप अफ कम्पनीजका सञ्चालक अमित तलवारका अनुसार, यसैसाता निर्माण शुरु भएको यो परियोजना आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ । परियोजनास्थल, नेपालगन्ज–१९ फुटाहामा भेटिएका सञ्चालक तलवारले दैनिक नेपालगन्ज भने, ‘यो शुरुवात हो, यससँगै हामी पर्यटन पूर्वाधारका क्षेत्रमा धेरै ठुलो सम्भावना देखेर नेपाल आएका छौं ।’
आनन्दी ग्रुप अफ कम्पनीज अन्तर्गतको एक प्रिमियम÷लक्जरी प्रोजेक्टलाई नेपालगन्जमा शुरु गर्न लागिएको सञ्चालक तलवारको भनाइ छ ।
आनन्दी ग्रुप अफ कम्पनीजले हालै भारतको उत्तरप्रदेश राजधानी लखनउमा निकै ठुलो र प्रतिष्ठित आनन्दी म्याजिक वल्र्ड सञ्चालनमा ल्याएर चर्चामा छ । जहाँ सन् २०२६ को स्वागतमा ‘नेपाली नाइट’ आयोजना गरि नेपाली गीत संगीतको प्रस्तुतिलाई उच्च प्राथमिकतामा राखेको थियो ।
सञ्चालक तलवारले नेपालगन्जको भौगोलिक अवस्था, भारतसँगको सीमावर्ती पहुँच र भविष्यको पर्यटकीय सम्भावनाका कारण यहाँ यति ठुलो लगानी गरिएको स्पष्ट पारे । ‘नेपालगन्ज भारतको सीमासँग जोडिएको महत्वपूर्ण शहर हो । यसबाहेक पनि यहाँ पर्यटनका धेरै सम्भावना छन् । पहिलो चरणमा आनन्दी रिगालियालाई कम्प्लिसन स्टेजसम्म पु¥याएर त्यसपछि थप योजनामा अघि बढ्छौं,’ उनले भने ।
कम्पनीका अनुसार, तीन सयबढीलाई रोजगारी दिने गरि आनन्दी रिगालिया अन्तर्गत हाल पाँच तारे होटल र बैंक्वेटको योजना अघि बढाइएको छ । यसैसाता राजधानी काठमाडौ पुगेर नेपाल पर्यटन बोर्ड लगायत यस क्षेत्रका जानकार तथा नियामक अधिकारीसँग आफ्ना लगानीका आधार र क्षेत्रबारे छलफल गरेका तलवारले नेपालको पर्यटन क्षेत्रमा आनन्दी रिगालिया विल्कुलै फरक ढंगले आएको बताउँछन् । उनी भन्छन्, ‘हामी यहाँ के छ भनेर होइन, के गर्न सकिन्छ भनेर इनोभेसनका लागि आएको हौं ।’
शुरुवाती लगानी सय करोडबढी हुने बताउँदै उनले होटल व्यवसायसँग सम्बन्धित सबै आधारभूत सुविधा रहने र त्यसका साथै नेपालगन्जका स्थानीय तथा बाहिरबाट आउने पर्यटकलाई नयाँ अनुभव दिने खालका सेवा पनि समेटिने बताए । ‘यहाँका मानिस र पर्यटकका लागि केही फरक, नयाँ अनुभव दिन चाहन्छौं,’ तलवारले बताए ।

समग्र पर्यटन विकासका हिसाबले नेपालगन्ज महत्वपूर्ण गन्तव्य भएको उनीहरूको भनाइ छ । नेपालको प्राकृतिक सौन्दर्य, अझै राम्रोसँग एक्सप्लोर हुन बाँकी रहेका पर्यटकीय स्थल र अनुकूल वातावरणीय पक्षले यहाँ पर्यटनको भविष्य उज्यालो देखिएको उनीहरू उल्लेख गर्छन् । ‘हामीलाई यहाँ आउँदा राम्रो अनुभूति भयो । आउने पर्यटकले पनि राम्रा ठाउँ हेर्न पाउन्, नयाँ अनुभव बटुलुन् र त्यसको प्रचारप्रसार होस् भन्ने चाहना हो,’ साथमै रहेका आनन्दी रिगालियाका सञ्चालहरूबीच तलवारले भने ।
कैलास मानसरोवर यात्राको रुटका कारण एक समय नेपालगन्जमा होटल क्षेत्रमा ठूलो लगानी भए पनि विभिन्न बाधाका कारण त्यसले निरन्तरता नपाएको सन्दर्भमा उनले आनन्दी ग्रुप सिजनल पर्यटनमा मात्र निर्भर नरहने स्पष्ट पारे । ‘हामी २५ वर्षदेखि होटल व्यवसायमा छौं । केवल मानसरोवर यात्रुका लागि मात्र होइन, वर्षभरी सञ्चालन हुने बिजनेस मोडलमा हामी विश्वास गर्छौं,’ उनले भने । एक सिजनमा मात्र भर पर्नु दीगो नहुने भएकाले वर्षभरी पर्यटक आकर्षित गर्ने योजना, आफ्नै पीआर र कर्पोरेट नेटवर्कमार्फत नियमित पाहुना ल्याइने उनको भनाइ छ ।
वर्षेनी हजारबढी पर्यटकका लागि आफुहरूसँग पहिल्यै योजना रहेको खुलस्त पारेका तलवारले आनन्दी रिगालिया नेपालगन्जमा समावेश हुने सबै पक्षबारे अहिले नै विस्तृत खुलाउन चाहेनन् । होटल सञ्चालनमा आएपछि नेपालगन्जले नयाँ स्तरको सेवा र अनुभव पाउने विश्वास उनले व्यक्त गरे । ‘होटल तयार भएपछि तपाईंहरू आफैंले देख्नुहुनेछ, हामीले दिने धेरै कुरा अहिले खुलाउन सक्दैनौं,’ उनले दैनिक नेपालगन्जको प्रश्नमा मुस्कुराउँदै भने ।
‘भारतीय लगानीसहित नेपालगन्जमा अघि बढेको यो आनन्दी एम्बियसको परियोजनाले स्थानीय पर्यटन, रोजगारी र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको’ पर्यटन अभियन्ता श्रीराम सिग्देलको भनाइ छ ।
‘हामीले लगानीमैत्री वातावरण बनाइदिनुपर्छ, यसरीनै लगानी ओइरिन्छ, रोजगारी सिर्जना हुन्छ, राजस्व लगायतका तमाम अवसरले बाटो खोल्छ,’ नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देलले भने, ‘एउटा पाँचतारे होटल सञ्चालनमा आइपुग्दा यसले सिर्जना गर्ने बहुपक्षीय अवसरलाई मिनिमाइज्ड गर्नै मिल्दैन ।’
नेपालगन्जमा सोल्टी र कोहलपुरस्थित सेन्ट्रल प्लाजा पाँच तारे होटल हुन् । त्यसबाहेक तारे होटलको संख्या यहाँ दर्जनबढी छन् । होटल पौवा लगायत कतिपय निर्माणधिन छन् । तीमध्ये आधा दर्जन होटलमा क्यासिनो चल्छन् । जसले वर्षेनी करोडौं राजस्व र सयौंलाई रोजगारी दिइरहेका छन् । ‘त्यतिमात्रै होइन, यी होटल तथा क्यासिनोका कारण आर्थिक क्षेत्रमा ट्रिकलडाउन इफेक्ट निकै प्रभावकारी हुन्छ,’ क्यासिनो सिटी नेपालगन्जको वकालत गर्दै आएका तत्कालिन नगर प्रमुख डा. धवल शम्शेर राणा भन्छन् । ट्रिकलडाउन इफेक्ट भन्नाले आर्थिक विकास वा लाभ माथिल्लो तहबाट तलतर्फ बिस्तारै सर्ने प्रभावलाई जनाइन्छ । धनी, ठूला व्यवसाय, लगानीकर्ता वा उच्च आय भएका समूहलाई फाइदा पुगेपछि त्यसको असर बिस्तारै आम जनता र तल्लो वर्गसम्म पुग्छ भन्ने मान्यता नै ट्रिकलडाउन इफेक्ट हो ।































