नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको २० औं स्थापना दिवस देशभर विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै भव्य रूपमा मनाइएको छ।
यसै अवसरमा महासङ्घको जिल्ला शाखा बाँकेले सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित दिदीबहिनी तथा दाजुभाइहरूलाई भोजन गराउने पुण्य कार्य सम्पन्न गरेको छ। मानव सेवाजस्तो महान् कार्यमा सहभागी हुन पाउँदा गर्वको अनुभूति भएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रममार्फत समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने सानो प्रयास गरिएको अनुभूति सबैलाई भएको बताइएको छ। साथै, उक्त कार्यक्रममा केन्द्रीय समितिको तर्फबाट प्रतिनिधित्व गर्दै सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको प्रतिक्रिया पनि व्यक्त गरिएको छ।
यस्ता सामाजिक सेवामूलक कार्यहरूले संस्थाको गरिमा अझै बढाउने विश्वास लिइएको छ। महासङ्घको स्थापना दिवसको पावन अवसरमा कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेका छन्।































