नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारहरुलाई उच्च नैतिकताको नसिहत स्मरण गराएको छ । हालै सार्वजनिक सरोकारसँग जोडिएका केही घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शाखाले बुधवार प्रेस विज्ञप्ती जारी गरेरै ‘पत्रकारिता पेशा उच्च नैतिकता, जिम्मेवारी तथा आचारसंहितामा आधारित हुनुपर्ने’ स्मरण गराएको हो ।
शाखा सचिव कृष्ण ओलीद्वारा जारी विज्ञप्तीमा पत्रकारिताको नाममा गरिने कुनै पनि प्रकारको अराजक गतिविधि महासंघको मूल्य, मान्यता र धर्मभित्र नपर्ने स्पष्ट पारिएको छ । साथै, आचारसंहिता विपरीतका कार्यमा संलग्न हुने पत्रकारले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्वयं वहन गर्नुपर्ने उल्लेख गरिएको छ ।
पछिल्ला घटनाक्रमलाई लिएर दिउसो महासंघका पूर्व अध्यक्ष, विभिन्न आस्थाका संगठन अध्यक्षहरुसँग बसेको बैठकपछि महासंघले सम्पूर्ण पत्रकारहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै मर्यादित, व्यवसायिक र जिम्मेवार ढंगले सञ्चारकर्म गर्न आग्रह गरेको हो ।
महासंघ जिल्ला अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको परामर्श बैठकमा पूर्व अध्यक्ष निरज गौतम, झलक गैरे, प्रेस सेन्टरका प्रदेश अध्यक्ष प्रदीप वाग्ले, प्रेस चौतारीका अध्यक्ष कमल डाँगी, युनियन अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, प्रगतिशीलका तिलक गाउँले लगायतले विद्यमान अवस्थाबारे आफ्ना धारणा र अबको बाटोबारे धारणा राखेका थिए ।
यसैबीच, भेरी अस्पतालसँग सम्बन्धित पछिल्लो घटनाप्रति महासंघ बाँके शाखाले गम्भीर चासो व्यक्त गरेको जनाएको छ । उक्त घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । साथै, घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्न पनि जोडदार माग गरिएको सचिव ओलीले बताए ।
महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्दै पत्रकारहरूको भौतिक तथा पेशागत सुरक्षाका पक्षमा सधैँ दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ । तर, पत्रकारका नाममा गरिने अराजकता तथा आचारसंहिता विपरीतका गतिविधिप्रति कुनै समर्थन नरहने स्पष्ट पारेको छ ।






























