भदौ २४ गतेको आगजनीपछि क्षतिग्रस्त बनेको नेपालगन्जस्थित नापी कार्यालयले पुनःस्थापनासँगै सेवा प्रवाहलाई निरन्तरता दिँदै सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । दैनिक नेपालगन्जको टोलीले स्थलगत अवलोकन गर्दा कार्यालयमा मर्मत कार्य जारी रहेकै अवस्थामा पनि सेवाग्राहीलाई नियमित सेवा प्रदान भइरहेको देखिएको हो ।
कार्यालय परिसरमा आगलागीबाट प्रभावित संरचनाहरू मर्मत हुँदैछन् भने जलेका कागजात र क्षतिग्रस्त सामग्री व्यवस्थापनको काम पनि क्रमशः भइरहेको देखिन्छ । यस्ता चुनौतीका बीच पनि कर्मचारीहरू आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध देखिँदै सेवाग्राहीलाई सहजरूपमा सेवा दिन सक्रिय छन् ।
नापी कार्यालय बाँकेका प्रमुख नापी अधिकृत रामकुमार बस्नेतका अनुसार सेवा प्रवाहलाई कुनै असर नपर्ने गरी व्यवस्थापन गरिएको छ । ‘हाम्रो पहिलो दायित्व जनतालाई सेवा दिनु हो, त्यसैले मर्मत कार्य चलिरहँदा पनि सेवा चुस्त र दुरुस्त रूपमा सञ्चालन गरिरहेका छौं,’ उनले भने ।
प्रमुख नाप् अधिकृत बस्नेतका अनुसार, कार्यालयमा हाल करिब ३०–३५ जना कर्मचारी सक्रिय रूपमा खटिएका छन् भने कुल दरबन्दी ४७ जनाको रहेको छ । कर्मचारीबीचको सहकार्य र व्यवस्थापनका कारण सेवा प्रवाहमा उल्लेखनीय अवरोध नआएको उनको भनाइ छ ।
सरकारको निर्देशन तथा सय दिने कार्ययोजना अनुरूप कार्यालयले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरिरहेको जनाइएको छ । ‘साथै, भूमि आयोगसँग सम्बन्धित कार्यहरू पनि स्थानीय तहसँग समन्वय गरेर अघि बढाइएको छ,’ आयोगका सदस्य सचिव समेत रहेका बस्नेतले दैनिक नेपालगन्जसँग भने ।
आगलागीपछिको पुनर्निर्माण र सेवा निरन्तरताको यो प्रयासले नापी कार्यालयलाई संकट व्यवस्थापनको एक सफल उदाहरणका रूपमा स्थापित गरेको छ। सीमित स्रोतसाधनका बीच पनि सेवामा समर्पित कर्मचारीहरूको सक्रियताले सेवाग्राहीमा विश्वास बढाएको देखिन्छ ।




























