रुपा गहतराज
फायर हाइड्रेट र पूर्वतयारीले घट्दै आगलागी जोखिम
नेपालगन्ज उपमहानगरपालिकामा फायर हाइड्रेट जडान, दमकल सेवा विस्तार र जनचेतनामूलक कार्यक्रमका कारण आगलागीका घटनामा उल्लेख्य कमी आएको छ । चालु वर्षमा मात्र ५७ वटा आगलागीका घटना भएका छन् भने गत वर्ष १०१ स्थानमा यस्ता घटना भएका थिए । यसले विपद व्यवस्थापनका क्षेत्रमा गरिएको प्रयास प्रभावकारी बन्दै गएको देखाउँछ ।

उपमहानगरपालिकाका मुख्य चोकहरु, भीडभाड हुने बजार क्षेत्र तथा जोखिमयुक्त स्थानहरूमा फायर हाइड्रेट जडान गरिएपछि आगलागी नियन्त्रणमा सहजता आएको छ । हाल नेपालगनजका २२ स्थानमा फायर हाइड्रेट राखिएका छन् । वडा नम्बर ३ मा तीन स्थानमा र वडा नम्बर २ को गुम्बा चोकमा पनि फायर हाइड्रेट जडान गरिएको छ । यसले आकस्मिक अवस्थामा दमकललाई छिटो पानी उपलब्ध गराउन सहयोग पुर्याएको छ ।
विपद व्यवस्थापन शाखा प्रमुख दिपेन्द्र श्रेष्ठका अनुसार फायर हाइड्रेटका कारण आगलागी नियन्त्रणमा छिटो प्रतिक्रिया दिन सकिएको छ । उनले भने, ‘पानीको अभावका कारण ढिलाइ हुने अवस्था हटेको छ, जसले गर्दा क्षति कम गर्न सहयोग पुगेको छ ।’ नेपालगन्ज महानगरपालिकाभित्र सबैभन्दा बढी आगलागीका घटना हुने गरेका छन् । तर, पूर्वतयारी र संरचनात्मक सुधारका कारण जोखिम व्यवस्थापनमा सुधार आएको छ ।
वरुण यन्त्र (दमकल) का प्रमुख इन्चार्ज झइन बहादुर खड्काका अनुसार बीपीचोक र रानी तलाउ क्षेत्रमा खानेपानीको बोरिङ सुविधा उपलब्ध भएकाले आगलागी नियन्त्रणमा समस्या नहुने गरेको छ ।
बाँके जिल्लामा हाल तीन वटा दमकल सञ्चालनमा रहेका छन् । ५ लिटर पम्प क्षमता र ४५ लिटर पानी वहन क्षमता भएका यी दमकलहरु नेपालगन्जसहित बर्दिया र दाङसम्म पुगेर सेवा दिने गरेका छन् । आवश्यकता अनुसार भारतीय सीमा क्षेत्र रुपैडिहासम्म पनि दमकल परिचालन हुने गरेको छ ।

त्यसैगरी, नेपालगन्जमा एउटा ‘फायर बाइक’ पनि व्यवस्था गरिएको छ, जसले साना आगलागीका घटनामा तत्काल नियन्त्रण गर्न सहयोग पुर्याउँछ । जनशक्ति विकासमा पनि विशेष ध्यान दिइएको छ । सात दिने विपद् स्वयंसेवक तालिममार्फत २४ जनालाई आगलागी नियन्त्रण सम्बन्धी सीप प्रदान गरिएको छ ।

साथै, दमकलकर्मी र नगर प्रहरीलाई पनि तालिम दिइएको छ । सामुदायिक प्रतिक्रिया टोलीमार्फत वडा नम्बर ३ र ४ का करिब ४०० जनालाई तालिम दिइएको छ, जसले स्थानीय स्तरमै विपद् सामना गर्ने क्षमता अभिवृद्धि गरेको छ । स्थानीय तह, सुरक्षा निकाय र समुदायबीचको सहकार्यका कारण नेपालगनजमा आगलागी नियन्त्रण प्रणाली मजबुत बन्दै गएको छ । फायर हाइड्रेट, दमकल सेवा, तालिम र जनचेतनाको संयोजनले आगामी दिनमा आगलागी जोखिम अझ न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
नेपालगन्जमा उच्च जोखिमयुक्त घरहरुको आवासीय बीमा

नेपालगन्ज उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै उच्च जोखिमयुक्त घरहरुको आवासीय बीमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाको पहलमा हाल वडा नम्बर ३ र ७ का गटरी १ सय ८४ घरहरुको बीमा सम्पन्न गरिएको छ भने अन्य वडाहरुमा पनि यो कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको छ ।

उपमहानगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख दीपेन्द्र श्रेष्ठका अनुसार प्राकृतिक विपद, आगलागी, बाढी तथा अन्य जोखिमका कारण उच्च जोखिममा रहेका घरहरुको पहिचान गरी बीमा गरिएको हो । ‘हामीले विशेष गरी जोखिमयुक्त क्षेत्रमा रहेका घरहरूलाई प्राथमिकतामा राखेर बीमा गरेका छौं, ताकि विपद पर्दा स्थानीय बासिन्दाले आर्थिक राहत पाउन सकून’, श्रेष्ठले भने । उनका अनुसार वडा नम्बर ८ र ११ मा पनि आवासीय बीमा कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइएको छ । यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र चाडै ने ती वडाका घरधनीहरुलाई पनि बीमाको दायरामा ल्याइने जनाइएको छ ।

बीमा कार्यक्रम अन्तर्गत घरधनीहरुले न्यून शुल्कमा आफनो घरको बीमा गर्न पाउने व्यवस्था गरिएको छ भने विपद परेमा परेमा बीमा कम्पनीमार्फत क्षतिपूर्ति पाउने प्रावधान रहेको छ । यसले स्थानीय बासिन्दामा सुरक्षा अनुभूति बढाउनुका साथै आर्थिक जोखिम घटाउन सहयोग पु–याउने विश्वास लिइएको छ । वडा नम्बर ७ का केही बासिन्दाले बीमा दाबीसमेत गरिसकेको उपमहानगरपालिकाले जनाएको छ । हालसम्म करिब ८ सय ५० रुपैयाँ वार्षिक प्रिमियममा बीमा गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले यो कार्यक्रमलाई दीर्घकालीन रणनीतिको रुपमा अघि बढाएको जनाएको छ । स्थानीय तहले विपद् व्यवस्थापनमा नया अभ्यासको रुपमा आवासीय बीमा कार्यक्रम ल्याएको हो, जसले अन्य स्थानीय तहलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ ।
स्थानीय बासिन्दाहरुले पनि यस कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । उनीहरुका अनुसार विपद् आउदा हुने आर्थिक क्षतिको चिन्ताबाट केही हदसम्म मुक्त हुन सकिने भएकाले बीमा कार्यक्रम उपयोगी सावित हुने विश्वास गरिएको वडा नं ७ का वडा अध्यक्ष प्रसान्त श्रेष्ठले बताए । यस कार्यक्रममार्फत नेपालगन्जलाई सुरक्षित र विपद् सहनशील शहर बनाउने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ । आगामी दिनमा थप वडाहरुमा विस्तार गर्दै सबै जोखिमयुक्त घरहरुलाई बीमाको दायरामा ल्याउने योजना रहेको छ ।
नेपालगन्जले बनायो समावेशी विपद् व्यवस्थापन रणनीति
नेपालगन्ज उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई थप समावेशी र प्रभावकारी बनाउन ’लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना, २०८२’ पारित गरेको छ । असार १८ गते बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकबाट उक्त कार्ययोजना स्वीकृत गरिएको हो । नेपालमै पहिलोपटक स्थानीय तह स्तरमा विपद् सम्बन्धि यस्तो प्रकारको समावेशी कार्ययोजना तयार भएको हो ।

यो कार्ययोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीतिगत ढाँचासंग समन्वय गर्दै तयार गरिएको हो । विशेषगरी लैङ्गिक कार्य योजना २०१५–२०३० तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण द्वारा तयार गरिएको “लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना, २०८१“ कार्यान्वयनको क्रममा रहेको सन्दर्भमा, त्यसलाई स्थानीय स्तरमा प्रभावकारी रुपमा लागू गर्ने उद्देश्यले यो योजना बनाइएको हो ।
यसैक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला विकास अधिकृत पवित्रा पुरीले विपद् व्यवस्थापनमा संकटासन्न समूहहरुको पहुँच र क्षमता अभिवृद्धि गर्दै उनीहरुको अर्थपूर्ण सहभागिता बढाउनेतर्फ योजना केन्द्रित रहेको बताइन ्। ‘लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न यो कार्ययोजना महत्वपूर्ण आधार बन्नेछ,’ उनले भनिन्, ‘सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई विपद् संवेदनशील बनाउन समेत यसले सहयोग पुर्याउनेछ ।’
कार्ययोजनामा विपद् पूर्वतयारी, प्रतिकार्य र पुनःस्थापनाका सबै चरणमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको समान पहुच सुनिश्चित गर्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय कार्ययोजनामा संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न सरोकारवाला निकायहरुको भूमिका स्पष्ट रुपमा तोकिएको छ । सोही आधारमा नेपालगन्ज उप–महानगरपालिकाले स्थानीय आवश्यकता र जोखिम अवस्थालाई ध्यानमा राख्दै आफनै रणनीतिक कार्ययोजना तयार गरेको जनाएको छ ।
महिला, बालबालिका तथा जोखिममा रहेका समुदायलाई केन्द्रमा राखेर तयार गरिएको यो योजना उप–महानगरपालिकाको साझा दस्तावेजका रुपमा रहने बताइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी आशा शाहीले यो कार्ययोजना महिला शाखाको मात्र नभई सम्पूर्ण उप–महानगरपालिकाको योजना भएको स्पष्ट पारिन् ।

त्यस्तै, उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ उपदफा २ (१) अनुसार प्राप्त अधिकार प्रयोग गरी यो कार्ययोजना तयार गरिएको जानकारी दिए । उनले विपद् व्यवस्थापनमा समावेशी दृष्टिकोण अपरिहार्य रहेको बताए ।
साथै, सुरक्षित आश्रयस्थल निर्माण, जोखिम नक्सांकन, जनचेतना अभिवृद्धि तथा क्षमता विकासका कार्यक्रमहरु पनि समावेश छन् । यसका अतिरिक्त राहत वितरण र पुनःस्थापनामा कसैलाई पनि पछाडि नपार्ने नीति अवलम्बन गरिने जनाइएको छ । कार्यान्वयनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग सहकार्य गरिने र नियमित अनुगमन तथा मूल्याङ्कनमार्फत यसको प्रभावकारिता सुनिश्चित गरिनेछ ।





























