लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सुरु भएको राष्ट्रिय सञ्चार सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो ढंगले अघि बढेको टिप्पणी गर्नुभयो ।
उहाँले एउटा व्यक्तिलाई अलौकिक शक्तिकाे रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै लोकतन्त्रको मर्म विपरीत गतिविधि बढ्दै गएको टिप्पणी गर्नुभयाे ।आज निशाना मिडिया माथि छ, निशाना गरिब निमुखा माथि छ, निशाना ट्रेड युनियन माथि छ,´उहाँले भन्नुभयो-त्यहीँ भएर तपाई हामी सबै सचेत र गम्भीर बन्न जरुरी छ ।´
मुख्यमन्त्री आचार्यले संघीय सरकारले सरकारी सञ्चार माध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत आफूहरुले कडा असन्तुष्टि राखेको बताउनुभयो । प्रधानमन्त्रीबाट करेक्सन गर्ने आश्वासन पायौं, तर अझै सुधार भएको छैन,´ उहाँले भन्नुभयो-मिडिया माथि लगाइकाे अंकुश बारे सबैभन्दा पहिला धारणा प्रदेश सरकारकाे तर्फबाट राखेका हाैं ।´
प्रदेश सरकार मिडिया मैत्री रहेको उल्लेख गर्दै उहाँले मिडियाका सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको दाबी गर्दै कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताउनु भएको हाे ।
मुख्यमन्त्री आचार्यले संघीय सचिवहरु प्रदेश सरकारप्रति उत्तरदायी नहुँदा काम गर्न कठिनाइ भएको धारणा राख्नुभयाे ।`आर्थिक पक्षमा हाम्रो सही चल्दैन । सचिव संघीय सरकारप्रति उत्तरदायी हुँदा प्रदेश सरकारलाई समस्या परेको छ,´ उहाँले भन्नुभयो ।
पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरु सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरु सडकमा उत्रिएको स्मरण गर्नुभयो ।
मिडियालाई कमजोर बनाउन संघीय सरकारले एकाधिकार लाद्न खोजेको छ,´ उहाँले भन्नुभयो,आज विज्ञापन रोक्ने, भोलि समाचारमा सेन्सर लगाउने र पछि मिडियालाई प्रतिबन्ध लगाउने अवस्था नआउला भन्न सकिँदैन ।´
उहाँले सञ्चार क्षेत्रमा देखिएका चुनौतीबारे सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग र व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य ले मिडिया मैत्री नीति आवश्यक रहेको बताउनुभयो । उहाँले दुई तिहाइको सरकारमा दम्भ देखिएको आरोप लगाउँदै सरकार जनता र मिडियाप्रति संवेदनशील हुन नसक्दा निरंकुश बन्न थालेको टिप्पणी गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ले सञ्चार क्षेत्र अस्तित्व संकटमा पुगेको बताउनुभयो । विकासभन्दा विज्ञापनमा बढी खर्च गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उहाँले बुटवललाई `मिडिया सिटी´ का रुपमा विकास गर्न सकिने सम्भावना रहेको धारणा राख्नुभयो ।
मिडिया हाउस विस्थापित भएर जाँदा रमिते भएर हेर्ने कि जोगाउने भन्ने विकल्प आएको छ,´उहाँले भन्नुभयो,बुटवलमा मिडिया सिटी निर्माणका लागि पहल थाल्नुपर्छ ।´
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे को अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको क्षमता अभिवृद्धि र मिडिया नीतिलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो ।





























