नेपालगन्ज उपमहानगरपालिका–कोरियनपुर, बाँकेमा अवस्थित जेएस सेकेन्डरी स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शतप्रतिशत सफलता हासिल गर्दै उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयबाट एसइई परीक्षामा सहभागी भएका सबै २० जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
विद्यालयका अनुसार सहभागी विद्यार्थीमध्ये ५ जनाले ए प्लस (A+), १२ जनाले ए (A) तथा ३ जनाले बी प्लस (B+) ग्रेड प्राप्त गरेका छन् । उत्कृष्ट नतिजासँगै विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूमा खुसी र उत्साह छाएको छ ।
विद्यालयका प्रिन्सिपल लक्ष्मी प्रसाद देवकोटाले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र विद्यार्थीमैत्री वातावरणलाई प्राथमिकतामा राख्दै आएको कारण एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । उनले मेहनती विद्यार्थी, समर्पित शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गर्दै सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएका छन् ।
त्यस्तै विद्यालयका प्रबन्ध निर्देशक महेन्द्र सेढाईले सानो संख्यामा विद्यार्थी भए पनि गुणस्तरीय शिक्षामा कुनै सम्झौता नगरेको उल्लेख गर्दै विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकहरूको विश्वासकै कारण विद्यालयले उल्लेखनीय सफलता प्राप्त गरेको बताए ।
विद्यालयले आधुनिक शिक्षण पद्धति, अनुशासित वातावरण तथा विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप तथा नैतिक शिक्षामा समेत विद्यालयले विशेष ध्यान दिँदै आएको विद्यालय प्रशासनको भनाइ छ ।
यस शानदार एसइई नतिजापछि विद्यालय परिवारले सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको छ ।




























