नेपालगन्जस्थित सोल्टी वेस्टेण्ड प्रिमियरका आवासीय महाप्रबन्धक राज विक्रम शाहलाई कर्मचारीहरूले भावनात्मक रूपमा विदाइ गर्दै सम्मान गरेका छन् । करिब साढे तीन वर्षको सफल नेतृत्वपछि उहाँको सरुवा सोल्टी वेस्टेण्ड लेकसाइड, पोखरामा भएको हो ।
शाहको सम्मानमा आयोजित कार्यक्रममा सयभन्दा बढी कर्मचारीहरू सहभागी भएका थिए । व्यवस्थापन, सेवा प्रवाह र कार्यसंस्कृतिमा आएको सुधारका कारण उहाँलाई सहकर्मीहरूले “इन्सपाइरिङ लिडर” का रूपमा स्मरण गरेका छन् । विदाइको क्षणमा धेरै कर्मचारीहरू भावुक देखिएका थिए ।
सहकर्मीहरूले शाहको नेतृत्वमा नेपालगन्ज शाखाले सेवा गुणस्तर मात्र होइन, कर्मचारी सुविधामा पनि उल्लेखनीय सुधार गरेको बताए । सोल्टीका सबै शाखाहरूमध्ये नेपालगन्जमा पछिल्ला तीन वर्षदेखि निरन्तर बोनस वितरण हुनु ऐतिहासिक उपलब्धि भएको भन्दै कर्मचारीहरूले नेतृत्वको दूरदृष्टिको प्रशंसा गरे ।
विदाइ समारोहमा शाहले नेपालगन्जमा बिताएको समयलाई जीवनकै स्मरणीय र उपलब्धिमूलक अध्यायका रूपमा उल्लेख गर्नुभयो । उहाँले सम्पूर्ण सहकर्मी, व्यवस्थापन र कर्मचारीप्रति आभार व्यक्त गर्दै यहाँको सहकार्यले आफूलाई अझ जिम्मेवार र अनुभवी बनाएको बताउनुभयो ।
नेपालगन्जको पर्यटन सम्भावनाबारे बोल्दै शाहले यस क्षेत्रले अझ ठूलो अवसर बोकेको उल्लेख गर्नुभयो । उहाँका अनुसार सीमा क्षेत्रको रणनीतिक अवस्थिति, कैलाश मानसरोवर यात्राको सम्भावना र कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्यले नेपालगन्जलाई महत्वपूर्ण पर्यटन हबका रूपमा विकास गर्न सक्ने आधार छन् ।
तर, उहाँले पर्यटन विकासका लागि स्वस्थ प्रतिस्पर्धा अपरिहार्य रहेको बताउँदै भन्नुभयो, “अन्फेयर र अन्डरकट कम्पिटिशन तत्काल रोकिनुपर्छ । हामीले आफैँलाई कम आँक्नु हुँदैन, न त आत्तिनु न त मात्तिनु हुन्छ ।” उहाँले निजी क्षेत्रबीचको सहकार्य र साझा सोचले मात्रै दिगो पर्यटन विकास सम्भव हुने धारणा राख्नुभयो ।
नेपालगन्जमा शाहको कार्यकाललाई कर्मचारीहरूले संस्थागत रूपान्तरण र प्रेरणादायी नेतृत्वको चरणका रूपमा स्मरण गरेका छन् । अब उहाँले पोखरास्थित सोल्टी वेस्टेण्ड लेकसाइडमा नयाँ जिम्मेवारी सम्हाल्ने तयारी गर्नुभएको छ ।
शाहको सम्मानमा गरिएको फेरि भेटौला कार्यक्रमको सहजीकरण खम्बजंग शाहले गर्नु भएको थियो भने विभिन्न विभागीय प्रमुखहरुले कार्यक्रममा धारणा राख्नु भएको थियो ।































