सहज रूपमा रक्तदाता उपलब्ध गराउने उद्देश्यले ‘लायन्स ब्लड डोनर्स’ नामक मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।
रगत आवश्यक पर्ने बिरामी र रक्तदाताबीच छिटो सम्पर्क स्थापित गर्न डिजिटल प्रणालीमार्फत लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल अन्तर्गत एरिया नम्बर ४ को पहलमा सेवा विस्तार गरिएको हो ।
एप निर्माता इ.सुजन नेपालका अनुसार, प्रयोगकर्ताले अनलाइन माध्यमबाट वा फोनमार्फत प्रत्यक्ष रूपमा रक्तदातासँग सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ । उनले त्यसबारे जानकारी दिंदै कार्यक्रममा भने, ‘एपमा रगत समूह वा व्यक्तिको नामका आधारमा पनि रक्तदाता खोज्न सकिने सुविधा छ ।’ उनका अनुसार पहिलो चरणमा बाँके जिल्लाका ३२२ जना रक्तदाताको विवरण एपमा समावेश गरिएको छ ।
इ. नेपालले प्रणालीबारे थप स्पष्ट गर्दै भने, ‘रगत आवश्यक पर्ने व्यक्तिले अनलाइनबाट सूचना पठाउँछ । दाताले पनि अनलाइनबाटै प्रतिक्रिया जनाउँछन् । वा, उसले यो सन्देश अर्को रक्तदातालाई पनि पठाउन सक्छ । रक्तदातालाई मोबाइल नम्बर वा ह्वाट्सएपमार्फत पनि सिधै सम्पर्क गर्न सकिनेछ ।’ ‘अनलाइनबाट खाजा मगाए जस्तै, मोबाइल एपबाट ट्याक्सी वा बाइक सेवा लिए जस्तै रगत दान सेवा लिन सकिनेछ’, उले भने ।
मोबाइल एपको शुभारम्भ सोमबार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गरेका थिए । कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका डिष्ट्रिक गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठले एपसम्बन्धी सम्पूर्ण जिम्मेवारी नगर प्रमुख विष्टलाई हस्तान्तरण गरेका थिए ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपाल अन्तर्गत एरिया नम्बर ४ ले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा उक्त मोबाइल एप सञ्चालनमा ल्याएको हो । एपको विकास जीके आइटी सोलुसनले गरेको हो ।
नगर प्रमुख विष्टले एपलाई रगत अभावमा परेका बिरामीका लागि महत्वपूर्ण राहत हुने बताए । उनले भने, ‘एपले रगत दिनुपर्छ भन्ने सचेतना पनि जगाउँछ । रगत दिने फाइदा बारे पनि जानकारी दिनेछ ।’ उनले थपे, ‘तपाईँले दिएको रगत कसलाई प्रयोग भयो भन्ने पनि थाहा हुनेछ । रगत दिएबापत धन्यवाद पनि पाउनु हुनेछ ।’
कार्यक्रममा डिष्ट्रिक गभर्नर श्रेष्ठ, डिष्ट्रिकका रक्तदान कार्यक्रम संयोजक सञ्जय थापा तथा एरिया नम्बर ४ का एरिया चिफ पुष्कर थापाले एपलाई रक्त व्यवस्थापनमा प्रभावकारी उपकरणका रूपमा प्रस्तुत गरेका थिए ।
उनीहरूले लायन्स क्लबहरूले प्रत्येक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आए पनि मागअनुसार रगतको अभाव कायम रहेको उल्लेख गरे । ‘रगत अभावका कारण बिरामीको जीवन जोखिममा पर्ने अवस्था अन्त्य गर्न डिजिटल प्रणाली उपयोगी हुने’ कार्यक्रम संयोजक थापाको भनाइ छ ।
सम्झनालाई सम्मान
दैनिक नेपालगन्ज
रक्त सेवा, खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निभाउँदै आएका नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनालाई विशेष कार्यक्रमका बीच सम्मान गरिएको छ ।
सोमवारनै उनलाई फूलको बुके, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एन नेपालका गभर्नर ज्ञानेन्द्रकुमार श्रेष्ठ र एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काले संयुक्त रूपमा उनलाई सम्मान गरेका थिए ।
सम्मान पत्रमा उल्लेख भए अनुसार, सम्झना २०२८ सालदेखि खेलकुद र रेडक्रसमार्फत निरन्तर रूपमा सेवामूलक गतिविधिमा सक्रिय रहँदै आएका छन् ।
रेडक्रस बाँके शाखाले जिल्लामा रक्त सेवाको सञ्जाल विस्तार गर्दै विभिन्न स्वास्थ्य संस्थासँग समन्वय गरेर सेवा प्रवाह गर्दै आएको छ ।
नेपालगन्जमा रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा समेत शाखामार्फत रक्तसञ्चार सेवा सञ्चालन भइरहेको छ ।






























