बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियो थेरापी सेवा ठप्प भएको एक महिनाभन्दा बढी समय बितिसकेको छ । क्यान्सर उपचारको प्रमुख माध्यम मानिने लिन्याक मेसिन बिग्रिएपछि पश्चिम नेपालका बिरामी प्रत्यक्ष प्रभावित बनेका छन् । अस्पताल प्रशासनले मर्मतका लागि पटक–पटक स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरे पनि आवश्यक सहजीकरण नपाउँदा मेसिन अझै सञ्चालनमा आउन सकेको छैन ।
लिन्याक मेसिन बन्द भएपछि दैनिक रेडियो थेरापी सेवा लिँदै आएका बिरामी अन्य अस्पतालतर्फ जान बाध्य भएका छन् । अस्पतालका निमित्त प्रमुख डा. प्रविण गुप्ताले मेसिन लामो समयदेखि बन्द रहँदा उपचार सेवामा गम्भीर असर परेको बताए ।
उनले भने, ‘लामो समयसम्म लिनायक मेसिन नचल्दा विरामीहरु अन्यत्र डायभर्ट भएका छन् । यथासक्य छिटो यसलाई बनाएर सञ्चालनमा ल्याउन सरकारले चासो राख्नुपर्छ ।’
अस्पताल स्रोतका अनुसार हरेक दिन २५ भन्दा बढी क्यान्सरका बिरामीले यही अस्पतालबाट रेडियो थेरापी सेवा लिँदै आएका थिए । अहिले मेसिन बन्द भएपछि उनीहरू उपचारका लागि अन्यत्र जान बाध्य भएका छन् ।

मेसिन बिग्रिएको विषय सतहमा देखिए पनि यसको जड भने खरिद प्रक्रियासँग जोडिएको पुरानो विवादमा रहेको बताइन्छ । अस्पतालमा जडान गरिएको मेसिन खरिद सम्झौतामा उल्लेख भएको भन्दा फरक एचएस कोड र कन्ट्री अफ ओरिजिनको भेटिएपछि भुक्तानी प्रक्रिया रोकिएको थियो । यही कारण सप्लायर्सले पाउनुपर्ने रकम नपाएको र त्यसकै प्रभाव अहिलेसम्म कायम रहेको अस्पताल प्रशासन स्रोतको भनाइ छ ।
स्रोतका अनुसार, अस्पतालले कोड र कन्ट्री अफ ओरिजिनसम्बन्धी समस्या समाधान गरिदिन स्वास्थ्य मन्त्रालयलाई पटक–पटक आग्रह गरेको थियो । तर मन्त्रालयबाट आवश्यक निर्णय नआउँदा विवाद यथावत् रह्यो। त्यसले गर्दा सञ्चालनमा रहेको मेसिनमा समय–समयमा देखिने प्राविधिक समस्या समाधान गर्न पनि कठिनाइ हुँदै आएको थियो ।
अस्पताल प्रशासनले मेसिनमा प्राविधिक खराबी आएको जनाएको छ। यद्यपि केही स्रोतले भने भुक्तानी विवादकै कारण सप्लाई गर्ने कम्पनीले सफ्टवेयर ह्याक गरी सेवा अवरुद्ध गराएको दाबी गरेका छन् । यो दाबीको आधिकारिक पुष्टि भने भएको छैन ।
मेसिन मर्मत गर्ने दक्ष प्राविधिक अस्पतालसँग छैन। अर्कोतर्फ मेसिन आपूर्ति गर्ने कम्पनीले पनि भुक्तानी नपाएको कारण देखाउँदै मर्मतमा चासो नदिएको बताइएको छ । त्यसैले मेसिन कहिले सञ्चालनमा आउँछ भन्ने विषय अन्योलमै रहेको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
२०७९ पुसमा अस्पतालमा ल्याइएको उक्त मेसिन विवादकै बीच जडान गरिएको थियो । जडान सम्पन्न भए पनि विभिन्न प्रशासनिक र प्राविधिक प्रक्रियाका कारण तीन महिनापछि मात्रै सञ्चालनमा आएको थियो । त्यसबेला अस्पतालका तत्कालीन निर्देशक डा. प्रकाश प्रसाद साहले सप्लायर्सलाई भुक्तानी हुने आश्वासन दिएर प्राविधिक झिकाएका थिए र रेडियो थेरापी सेवा सुरु गराएका थिए ।
तर स्रोतका अनुसार पछि भुक्तानीको दबाब बढ्दै जाँदा र भुक्तानी गर्दा अख्तियारको छानबिनमा पर्न सकिने आशंका भएपछि उनले सरुवा मिलाएर अस्पताल छाडेका थिए । त्यसपछि अस्पतालको नेतृत्व सम्हालेका मेडिकल सुपरिटेन्डेन्ट ज्वलन्त पौडेल पनि मेसिन बिग्रिएको केही दिनमै अन्यत्र सरुवा भएर गइसकेका छन् ।
अहिले अस्पतालमा विकास समिति छैन । प्रशासन प्रमुख पनि छैनन्। स्थानीयवासीले पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताललाई सरकारले नेतृत्वविहीन अवस्थामा छाडेको गुनासो गरेका छन् ।
लिन्याक मेसिन २७ करोड रुपैयाँभन्दा बढी लागतमा खरिद सम्झौता गरिएको थियो। अस्पताल प्रशासन स्रोतका अनुसार कुल रकमको करिब ६० प्रतिशत भुक्तानी सप्लायर्सले पाइसकेको छ । तर अझै ८ लाख ६ हजार डलर भुक्तानी दिन बाँकी रहेको छ ।
मेडि सोलुसनमार्फत आपूर्ति गरिएको उक्त मेसिन लन्डनबाट ल्याउने सम्झौता भएको थियो। तर भन्सार प्रज्ञापनपत्र र खरिद सम्झौतामा उल्लेखित एचएस कोड तथा कन्ट्री अफ ओरिजिन फरक भेटिएपछि बाँकी भुक्तानी रोकिएको हो ।
सप्लायर्स पक्षको भनाइअनुसार स्वास्थ्य मन्त्रालयले सुरुमा मेसिन जडान गरी त्यसको प्रभावकारिता परीक्षण गर्न निर्देशन दिएको थियो । मेसिन सञ्चालनमा आइसकेपछि भुक्तानी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको भए पनि त्यसअनुसार काम हुन सकेन ।
अस्पतालका एक चिकित्सकका अनुसार, भुक्तानी नहुँदा कम्पनीले वारेन्टी अवधिभित्र उपलब्ध गराउनुपर्ने प्राविधिक सेवा पनि प्रभावकारी रूपमा दिएको छैन। सञ्चालनमा रहेको अवस्थामा समेत मेसिनमा समस्या आउँदा आवश्यक सहयोग पाउन कठिन हुने गरेको थियो ।
लिन्याक मेसिन खरिद प्रक्रियासँग सम्बन्धित विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको स्रोतको दाबी छ । ‘यही विवादका कारण करोडौं रुपैयाँ मूल्यको अत्याधुनिक उपकरण अहिले प्रयोगविहीन बनेको छ भने त्यसको प्रत्यक्ष असर क्यान्सरका बिरामीमाथि परेको छ,’ स्थानीयवासीसमेत रहेका पत्रकार शरण कर्माचार्यले दैनिक नेपालगन्जसँग भने ।





























