नेपालगञ्ज उपमहानगरपालिका–१९ सुइयागाउँका ललवा माहुतको घरमा यतिबेला विशेष चहलपहल छ ।
धर्मले हिन्दू भए पनि ललवाको घरमा मुस्लिम समुदायमा जस्तै श्रद्धापूर्वक ‘ताजिया’ सजाइएको छ ।
मोहर्रमको नवौँ दिनमा घरमा ताजिया भित्र्याउने र दशौँ दिनमा कर्बलामा लगेर विसर्जन गर्ने माहुतको यो कार्य कुनै नयाँ भने होइन ।
“मेरो बाजेको पालादेखि नै हामीले घरमा ताजिया राखेर पूजाआजा गर्दै आएका छौँ”, ललवाले भन्नुभयो, “ताजिया राख्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । हाम्रो गाउँमा हिन्दू–मुस्लिम दुवै धर्म मान्नेहरू मिलेर रमाइलो गर्छौं र सामुहिक रूपमा विसर्जन गरेर मोहर्रम पर्वको बिदाइ गर्छौं ।”
मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँके जिल्लामा ललवा जस्तै धेरै हिन्दू धर्ममा आस्था राख्ने व्यक्तिले पनि ताजिया राखेर मोहर्रम पर्व मनाउने गरेका छन् । यो विशेष पर्वमा ताजिया राख्नेदेखि विसर्जनसम्म हिन्दू धर्मावलम्बी पनि उत्तिकै आस्था र भक्तिका साथ सहभागी हुने गरेका छन् ।
बाँकेको मोहर्रमले नेपालकै विशिष्ट धार्मिक सद्भावको कथा बोल्छ । शान्ति सद्भाव समिति बाँकेका सल्लाहकार एवं नेपालगन्ज उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठका अनुसार, यहाँ हिन्दू समुदायमा पनि ताजिया राख्ने चलन बढ्दै गएको छ ।
“नेपालगञ्ज सद्भावको सहर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था छ”, श्रेष्ठले भन्नुभयो, “यहाँ हिन्दू, मुस्लिम, शिख, इसाईलगायत समुदाय एकअर्काका धर्म, संस्कृति र परम्परासँग जोडिएका छन् । सबैको आस्था सबै धर्मसँग जोडिएको सहर नेपालगञ्ज हो ।”
मोहर्रमको विशेष दिन भएकाले श्रद्धालुहरू व्रत बस्ने, भक्तजनलाई खाना खुवाउने, नमाज पढ्ने र नयाँ कपडा लगाउने गर्छन् । बिहीबार बिहानैदेखि दुवै समुदायका मानिस एकापसमा अङ्कमाल गर्दै र प्रविधिका माध्यमबाट शुभकामना आदानप्रदान गरिरहेका देखिन्छन् ।
आ–आफ्नो गक्षअनुसार ताजिया स्थापना गरिने परम्परा छ । पछिल्ला केही वर्षमा ठूल्ठुला ताजिया राख्न होडबाजी चलेको मुस्लिम धर्म गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । उहाँले साना–ठूला जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताउनुभयो ।
घरमा स्थापना गरिएको ताजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो ।
इस्लामिक नयाँ वर्ष ‘हिजरी संवत्’ को पहिलो महिना मोहर्रम हो । हिजरी संवत्को ५ तारिखदेखि सुरु हुने यो पर्वको १०औँ दिन (आसुरा) को विशेष महत्व रहन्छ । इराकको कर्बला सहरमा पैगम्बर मोहम्मदका नाति हजरत इमाम हुसेन र उनका परिवारका सदस्य सत्य र न्यायका लागि लड्दा लड्दै सहिद भएको सम्झनामा मोहर्रम मनाउने प्रचलन रहेको धर्मगुरु मञ्जरीले बताउनुभयो ।





























