सजल गैरे
नेपाली साहित्यमा महिला स्रष्टाको उपस्थिति बलियो बन्दै गए पनि उनीहरूले पाउनुपर्ने संस्थागत स्थान र सम्मानको प्रश्न अझै टुंगिएको छैन । राष्ट्रियदेखि अन्तर्राष्ट्रिय साहित्यिक वृत्तसम्म नेपाली महिला लेखनको प्रभाव विस्तार भइरहेका बेला पुरस्कार, पाठ्यक्रम, प्रकाशन र प्राज्ञिक संस्थामा महिला लेखिकाको प्रतिनिधित्वबारे नेपालगन्जमा गम्भीर बहस भएको छ ।
नेपालगन्जस्थित महेन्द्र पुस्तकालयमा मंगलवार आयोजित ‘साहित्यमा महिला हस्ताक्षरः विश्व र नेपाल’ विषयक अन्तरक्रियात्मक विमर्शमा साहित्यकार शिवानीसिंह थारु र वरिष्ठ नारी स्रष्टा निभा शाहले नेपाली महिला लेखनको वर्तमान अवस्था, त्यसका चुनौती र सम्भावनाबारे धारणा राखे । उनीहरूले महिला साहित्यकारको सिर्जनात्मक क्षमता बढाउन व्यक्तिगत प्रयाससँगै परिवार, समाज र साहित्यिक तथा प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।
विमर्शका क्रममा महिला साहित्यकारलाई सम्मान र अवसर दिने सवालमा साहित्यिक संस्थामाथि समेत प्रश्न उठाइयो । वक्ताद्वयले पुरस्कार वितरणदेखि विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमसम्म महिला लेखकका सिर्जनाले अपेक्षित स्थान पाउन नसकेको बताए । उनीहरूका अनुसार, महिला लेखिकाको लेखनलाई मूलधारमा ल्याउने प्रयास अझै पर्याप्त छैन ।
निभा शाहले विश्वविद्यालयका पाठ्यक्रममा महिला लेखिकाका कति रचना समावेश छन् भन्ने प्रश्नको उत्तरसमेत स्पष्ट रूपमा पाउन कठिन रहेको बताइन् । दर्जनौं साहित्य अनुरागीहरुबीच उनले भनिन्, ‘विश्वविद्यालयका पाठ्यक्रममा कति महिला लेखिकाका रचनाहरु समावेश छन् भन्ने माग्यो भने उहाँहरुले तथ्यांक दिन सक्नुहुन्न । हामीले हेर्दापनि महिला लेखिकाहरुका रचनाहरु पढ्न पाइँदैन ।’
साहित्यकार शिवानीसिंह थारुले महिला लेखिकाले साहित्यिक पुरस्कार पाउने विषयमा पनि विभेद रहेको बताइन् । उनका अनुसार, पुरस्कार प्रदान गर्ने संस्थाले छनोट प्रक्रियालाई पारदर्शी बनाउन नसक्दा त्यसप्रति प्रश्न उठ्ने अवस्था रहन्छ । उनले पुरस्कार छनोट समितिमा रहेका व्यक्तिको नाम सार्वजनिक नगर्ने प्रवृत्तिले शंका बढाउने गरेको बताइन् ।
‘जबसम्म छनोट समितिमा को छन् भन्ने कुरा पुरस्कार प्रदान भइसकेपछि पनि सार्वजनिक हुँदैन तब त्यहाँ निश्चित विचारधारा भएका वा वर्गका व्यक्तिहरु मात्रै छन् भन्ने आशंका रहिरन्छ । र त्यसमा पुरस्कार पाउने कृतिहरुको विषय प्रायः उस्तै रहनुले पनि बल पुर्याउँछ ।’ उनको स्पष्ट संकेत मदन पुरस्कारप्रति पनि लक्षित थियो ।
महिला लेखनको अवस्था केवल साहित्यिक संस्थाको व्यवहारबाट मात्र निर्धारण नहुने शाहको धारणा थियो । राज्य संरचना र सत्ताको स्वरूपले समेत साहित्यमा कुन प्रकारका पुस्तक र विचारले प्राथमिकता पाउने भन्ने विषय प्रभावित गर्ने उनले बताइन् । आलोचनात्मक चेत र गुणवत्ता भएका कृतिले अहिले पनि अपेक्षित पुरस्कार र स्थान नपाउने अवस्था रहेको उनको भनाइ थियो ।
सरकार वा कुनै निश्चित पदमा महिला पुगेकै आधारमा राज्यसत्तामा महिलाको अर्थपूर्ण सहभागिता स्थापित भएको मान्न नसकिने शाहले बताइन् । उनका अनुसार, निर्णय प्रक्रियाका हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता बढेपछि मात्र सत्तामा महिलाको पहुँच स्थापित भएको मान्न सकिन्छ ।
विमर्शमा नेपाली महिला साहित्यकारको लेखनलाई राष्ट्रिय सीमाभन्दा बाहिर पु¥याउने विषयसमेत उठ्यो । वक्ताद्वयले नेपाली महिला लेखिकाले सिर्जना गरेका साहित्यिक कृतिहरू विश्व साहित्य तथा क्षेत्रीय साहित्यको तुलनामा प्रभावशाली रहेको बताए । ती कृतिलाई अन्य भाषामा अनुवाद गर्न सके नेपाली महिला लेखनले अन्तर्राष्ट्रिय पाठकसम्म आफ्नो उपस्थिति थप बलियो बनाउन सक्ने उनीहरूको धारणा थियो ।
महिला स्रष्टाको सिर्जनशीलता र साहित्यिक यात्रामा आर्थिक स्वायत्तता, पारिवारिक साथ र संस्थागत प्रवद्र्धनको भूमिका महत्वपूर्ण हुने विषयमा दुवै साहित्यकार एकमत देखिए। लेखनलाई निरन्तरता दिन महिलाले आर्थिक रूपमा आत्मनिर्भर हुने अवसर पाउनुपर्ने उनीहरूले बताए । परिवारबाट प्राप्त सहयोग र साहित्यिक संस्थाबाट हुने प्रवद्र्धनले महिला लेखिकाको सिर्जनाको स्तर अझ माथि उठाउन सक्ने उनीहरूको निष्कर्ष थियो ।
कार्यक्रममा महिला साहित्यलाई केवल महिला केन्द्रित विषयका रूपमा सीमित नगरी समाजको समग्र अनुभव र परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा पनि राखिएको थियो । विश्व साहित्यमा महिलाले पु¥याएको योगदान र नेपाली साहित्यमा महिला स्रष्टाले निर्माण गरेको विशिष्ट स्थानलाई सँगसँगै हेर्दा नेपाली महिला लेखनको सम्भावना अझ फराकिलो रहेको वक्ताद्वयले बताए ।
नयाँ पुस्ताका महिला लेखकलाई पनि लेखनमा निरन्तर लाग्न वक्ताद्वयले प्रेरित गरे । आफ्ना अनुभव, भोगाइ, संघर्ष र आवाजलाई साहित्यका माध्यमबाट अभिव्यक्त गर्न उनीहरूले आग्रह गरे । साहित्य समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएकाले महिलाका अनुभव र आवाजलाई साहित्यमा बलियोसँग ल्याउनुपर्ने उनीहरूको धारणा थियो । ‘चुलोबाटै हाम्रो सशक्त लेखनको बिम्ब शुरु हुन्छ,’ सिवानीले भनिन् ।
अन्तरक्रियाका क्रममा सहभागीले महिला साहित्य, समकालीन लेखन, प्रकाशनका चुनौती, पाठकको रुचि तथा नेपाली साहित्यको वर्तमान अवस्थाबारे जिज्ञासा राखेका थिए। वक्ताद्वयले सहभागीका प्रश्नको जवाफ दिँदै आफ्ना लेखन अनुभव र साहित्यिक यात्राका विभिन्न पक्षबारे समेत चर्चा गरे ।
कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी, लेखक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । उनीहरु कतिपयले श्रष्टासँग प्रश्न पनि राखेका थिए । आयोजक महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले यस्ता विमर्शले साहित्यिक चेतना विस्तार गर्न र महिला स्रष्टाको योगदानलाई थप उजागर गर्न सहयोग पुग्ने जनाएको छ ।
साहित्यकार किरण आचार्यको अध्यक्षतामा भएको विमर्श कार्यक्रमको सहजीकरण पत्रकार सावित्री विश्वकर्माले गरेकी थिइन् । महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले कार्यक्रम आयोजना गरेको हो । नरेन्द्रजंग पिटरको संयोजकत्वमा रहेको उक्त उपसमितिले समाज मन्थन अन्तर्गत विमर्श श्रृंखला आयोजना गरिरहेको छ । मंगलवार यो तेस्रो श्रृंखला हो ।
कार्यक्रममा पुस्तकालयका अध्यक्ष बलराम यादव, उपाध्यक्ष पंकज श्रेष्ठ, सचिव सतिश निरौलालगायतका सञ्चालक सदस्यहरु, वरिष्ठ साहित्यकार सनत रेग्मी, डा. हरि तिमिल्सिना, प्राध्यापक डा. जनार्दन आचार्य लगायत धेरै साहित्यकार, कलाकार, पत्रकारहरुको सहभागिता थियो ।
महिला श्रष्टा मीना बराल, देवकी निरौला लगायतले जागरुक प्रश्नोत्तरमा सहभागिता जनाए भने, सुमित्रा न्यौपाने, कल्पना पौडेल लगायतका श्रष्टा, राजनीतिक नेतृहरुको पनि सहभागिता कार्यक्रममा थियो ।






























