साउन महिनामा बाँके जिल्लामा सवारी दुर्घटनाका घटना चिन्ताजनक देखिएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार साउन महिनाभर जिल्लामा ८४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १ सय ४२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार, दुर्घटनामा २३ जना गम्भीर र १ सय १९ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्दार तथा आवश्यक समन्वय गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरका अनुसार, एक महिनाको अवधिमा भएका ८४ दुर्घटनामा १ सय २७ वटा सवारीसाधन संलग्न रहेका थिए । दुर्घटनाको कारण विश्लेषण गर्दा अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको प्रहरी तथ्यांकले देखाएको छ ।
प्रहरीका अनुसार साउन महिनामा भएका दुर्घटनामध्ये ७५ वटा दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको पाइएको छ । त्यस्तै चालकको लापरवाहीका कारण १ वटा, यात्रुमा मादक पदार्थ सेवनका कारण २ वटा दुर्घटना भएका छन् । अन्य कारणबाट ६ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । चौपायाका कारण भने कुनै दुर्घटना भएको तथ्यांकमा उल्लेख छैन ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी चेकजाँच तथा ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीसाधनमाथि कारबाहीलाई समेत निरन्तरता दिएको जनाएको छ । साउन महिनामा चेकजाँचका क्रममा १ हजार ४ सय ८० वटा कारबाही गरिएको र त्यसबाट १२ लाख ४१ हजार ५ सय रूपैयाँ राजस्व दाखिला भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरी तथ्यांकले बाँकेमा सवारी दुर्घटनाको मुख्य चुनौती तीव्र गति रहेको देखाएको छ । तीव्र गतिका कारण हुने दुर्घटना नियन्त्रणका लागि चालकलाई गति सीमाको पालना गर्न लगाउने, नियमित चेकजाँच बढाउने तथा ट्राफिक नियमसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको छ ।






























