भारतको विभिन्न ठाउँबाट रूपईडीहा हुँदै सयौं कावरियाले शुक्रबार नेपालगन्ज पुगेर बागेश्वरी मन्दिर परिसरमा रहेको खडेश्वर महादेवमा विधिपूर्वक जलाभिषेक गरेका छन् ।
बिहीबार भारतको तकियास्थित सरयू नदीबाट जल लिएर उनीहरूले करिब ६–७ किलोमिटर पैदल यात्रा गर्दै नानपारा पुगेका थिए । त्यहाँबाट थप करिब १९ किलोमिटर यात्रा पूरा गरी राति रूपईडीहा पुगेका कावरियाले हनुमान सरोवरस्थित हनुमान मन्दिरको सभागारमा रात बिताएका थिए ।
हरेक वर्षझैँ यस वर्ष पनि उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधिमण्डल रूपईडीहा इकाइका अध्यक्ष शैलेश जायसवाल, सोनु साहु, विक्रम साहु र अमित कौशललगायतले कावँरियाको स्वागत गरेका थिए । उनीहरूका लागि जलपान तथा भोजनको समेत व्यवस्था गरिएको थियो ।
शुक्रबार बिहान हनुमान मन्दिरबाट नेपालगन्जतर्फ प्रस्थान गरेका कावरियाले करिब सात किलोमिटर पैदल यात्रा गरी बागेश्वरी मन्दिर पुगेका थिए । त्यसपछि खडेश्वर महादेवमा जलाभिषेक गरिएको थियो । यात्राका क्रममा ‘हर–हर महादेव’ र ‘बोलबम’को जयघोषले सीमा क्षेत्र भक्तिमय बनेको थियो ।
कावँरियाको सुरक्षालाई ध्यानमा राख्दै भारत र नेपाल दुवैतर्फका सुरक्षा निकाय सतर्क रहेका थिए । नेपाल प्रहरीले जमुनाह नाकादेखि नै कावरियालाई बागेश्वरी मन्दिर स्थलसम्म सुरक्षा प्रदान गरेको थियो ।
रूपईडिहाको सेन्ट्रल बैंक चोकमा स्थानीय प्रहरीले कावँरियामाथि पुष्पवर्षा गरी स्वागत गरेको थियो । नेपालतर्फ प्रवेश गरेपछि पनि विभिन्न स्थानमा स्थानीयवासीले स्वागत गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले त्रिवेणी मोडमा कावरियालाई पुष्पवर्षा गरी स्वागत गरेका थिए । कावरिया संघ तहसील नानपाराका अध्यक्ष बद्रीप्रताप सिंह ‘बब्लु सिंह’को नेतृत्वमा टोली नेपालतर्फ आएको थियो । टोलीमा राधेश्याम वर्मा, उपाध्यक्ष संग्राम सिंह, प्रमुख वर्मा, कोषाध्यक्ष लवकुश वर्मालगायत पदाधिकारी सहभागी थिए ।





























