प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज मंगलवारदेखि सञ्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका सबै परीक्षा स्थगित गरेको छ । विशेष परिस्थिति उत्पन्न भएपछि परीक्षा स्थगित गरिएको परिषद्ले जनाएको छ ।
परिषद्ले सोमबार अत्यन्त जरुरी सूचना जारी गर्दै मंगलवारदेखि सञ्चालन हुने भनिएका परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो । यस निर्णयसँगै डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक र सेमेस्टर परीक्षा प्रणालीअन्तर्गतका नियमित तथा आंशिक परीक्षासमेत प्रभावित भएका छन् ।
यसअघि परिषद्ले २०८३ साउन १५ गते परीक्षा तालिका सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुसार भदौ २३ गते बिहान ७ बजेबाट देशभर एकैसाथ परीक्षा सञ्चालन गर्ने तयारी थियो । त्यसका लागि भदौ १६ गते परीक्षा केन्द्रसमेत तोकिसकिएको थियो ।
परीक्षा केन्द्र तोकिएको र सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा परिषद्ले विशेष परिस्थितिका कारण परीक्षा रोक्ने निर्णय गरेको हो । परिषद्को सूचनाअनुसार यसअघि तोकिएका परीक्षा केन्द्र र समयअनुसार अब परीक्षा सञ्चालन हुने छैन ।
स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने परिषद्ले नयाँ मिति तोकेको छैन । परीक्षा नियन्त्रण कार्यालयले नयाँ परीक्षा तालिका तयार गरेपछि सार्वजनिक गर्ने जनाएको छ । नयाँ तालिकासँगै परीक्षा केन्द्रसम्बन्धी विवरण पनि पुनः प्रकाशन गरिनेछ ।
परिषद्ले परीक्षार्थीलाई परीक्षा स्थगित भएको विषयमा जानकारी राख्न आग्रह गरेको छ । नयाँ परीक्षा तालिका र केन्द्रको विवरण सार्वजनिक भएपछि मात्रै सोहीअनुसार परीक्षामा सहभागी हुनुपर्नेछ ।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्बन्धी थप विवरण तथा अद्यावधिक सूचना परिषद्को आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिने जनाएको छ । परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा विशेष परिस्थितिका कारण परीक्षा स्थगित गरिएको उल्लेख छ । स्थगित भएका परीक्षाको नयाँ तालिका र परीक्षा केन्द्र पछि पुनः सार्वजनिक गरिने सूचनामा जनाइएको छ ।






























