रसुवा भोटेकोसी बाढीमा ज्यान गुमाएका, बेपत्ता भएका, घाइते तथा प्रभावित परिवारका लागि होटल व्यवसायी संघ बाँके नेपालगन्जले ७५ हजार रुपिया संस्थागत सहयोग गरेको छ ।
सोमवार संघका अध्यक्ष भीमलाल कंडेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई जानकारी दिएको हो ।
संघका अध्यक्ष कंडेलका अनुसार, बाँकेका होटल व्यवसायीहरुले लाखौं रकम व्यक्तिगत तथा संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिरहेका छन् । ‘तैपनि हाम्रो छाता संस्थाबाट पनि बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा सघाउने उद्देश्यले हातेमालो गरिएको हो,’ अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘हामीले निरन्तर र सक्दो सहयोगको अपील पनि गरिरहेका छौं ।’
त्यसक्रममा संघका कोषाध्यक्ष एकराज पाण्डे, सदस्य सुरज भण्डारी, अतुल गुप्ता, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने पनि सहभागी थिए ।






























